• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

यि हुन् विश्वका १० खतरनाक नरभक्षी हिमालहरू


  • धनकुटा खबर
  • .

हिमालहरू जति अग्ला हुन्छन्, त्यति नै खतरनाक हुन्छन् भन्ने हुँदैन । कतिपय हिमाल उचाइमा कम भए पनि तिनका ठाडा चट्टानी भित्ताहरू, अनिश्चित मौसम, तीव्र हावा, हिमपहिरो, चट्टान खस्ने जोखिम र अत्यन्त कठिन आरोहण मार्गका कारण विश्वकै सबैभन्दा घातक मानिन्छन् ।

८ हजार मिटरभन्दा माथिको ‘डेथ जोन’मा अक्सिजनको चरम अभाव, माइनस ५० डिग्री सेल्सियससम्म झर्ने तापक्रम र ३७२ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने हावाले आरोहणलाई जीवन र मृत्युबिचको संघर्षमा बदलिदिन्छ । कतिपय हिमालमा त चुचुरोमा पुग्ने सफल आरोहणभन्दा असफल प्रयास र मृत्युका कथा बढी छन्, त्यसैले संसारको सबैभन्दा कठिन र खतरनाक हिमाल कुन हो भन्ने प्रश्नको उत्तर केवल उचाइ वा प्रसिद्धिका आधारमा दिन सकिँदैन ।

आरोहणको सफलता र मृत्युको अनुपात, भौगोलिक बनोट, ढलान, मौसम, मार्गको प्राविधिक कठिनाइ, पूर्वाधार र उद्धारको सम्भावनाजस्ता अनेक पक्षलाई एकसाथ हेर्नुपर्छ । यही आधारमा विश्वका केही यस्ता हिमपर्वतहरू छन्, जसले उत्कृष्ट र अनुभवी आरोहीलाई समेत चुनौती दिन्छन् र जसका कारण उनीहरूले ‘किलर माउन्टेन’ अर्थात् ‘नरभक्षी पर्वत’को भयावह उपमा पाएका छन् ।

रोचक त के छ भने विश्वकै अग्लो सगरमाथा पनि यीमध्ये सबैभन्दा खतरनाक पर्वत होइन । प्रस्तुत रिपोर्टमा यिनै दस ‘नरभक्षी हिमाल’को इतिहास, आरोहणका चुनौती, मृत्युका तथ्यांक र तिनलाई संसारकै कठिन तथा जोखिमपूर्ण हिमाल बनाउने कारणबारे चर्चा गरिएको छः

१०. बैन्था ब्राक

रोचक पक्ष समुद्री सतहबाट ७,२८५ मिटर (२३,९०४ फिट) उचाइमा रहेको पाकिस्तानको बैन्था ब्राकमाथि अहिलेसम्म केवल तीन पटक सफल आरोहण भएको छ । त्यसो त आरोहीको मृत्युको संख्या, अनुभवी आरोहीका कथा र अत्यन्त कठिन आरोहण मार्गका कारण यसले डरलाग्दो उपनाम ‘म्यान–इटर’ उपनाम पाएको छ । यो सबैभन्दा कठिन र जोखिमपूर्ण हिमालको सूचीमा पर्दछ ।

इसको पहिलो सफल आरोहण सन् १९७१ मा भएको थियो । फर्कने क्रममा पहिलो आरोहीमध्येका एक डग स्कटको दुवै खुट्टा भाँचिएका थिए भने उनका सहयात्री क्रिस बोनिङ्टनका दुईवटा करङ भाँचिनुका साथै उनलाई निमोनिया भएको थियो । तैपनि उनीहरू भीषण आँधीका बिच आधार शिविरसम्म पुग्न र जीवितै घर फर्कन सफल भए ।

आरोहीहरूले सन् २००१ मा मात्र त्यो सफलता दोहोर्‍याउन सके । तेस्रो तथा पछिल्लो सफल आरोहण सन् २०१२ मा भएको थियो । अन्य २० भन्दा बढी आरोहण अभियान असफल भएका छन् । ‘द ओगर’ भनेर चिनिने यो हिमालमा धेरै मानिसको मृत्यु भएको रेकर्ड नभए पनि विश्वका उत्कृष्ट आरोहीहरूले समेत यसलाई अत्यन्त सम्मानका साथ हेर्ने गर्छन् ।

यो ठाडा भिराला पाखा, कठिन आरोहण मार्ग र उच्च उचाइमा हुने अनिश्चित आँधीबेहरी भएको विशाल ग्रेनाइटको टावरजस्तो हिमाल हो ।

९. म्याटरहर्न

स्विट्जरल्यान्ड र इटालीको सीमामा अवस्थित म्याटरहर्नमा ६०० भन्दा बढी मानिसको मृत्यु भएको रेकर्ड छ । समुद्री सतहबाट ४,४७८ मिटर (१४,६९२ फिट) उचाइमा रहेको प्रसिद्ध अल्पाइन शिखर प्राविधिक रूपमा सबैभन्दा कठिन नभए पनि उच्च उचाइसम्म सहज पहुँच र अनुभवहीन आरोहीको ठूलो संख्याका कारण कुनै हिमाल कसरी अत्यन्त जोखिमपूर्ण बन्न सक्छ भन्ने एउटा उल्लेखनीय उदाहरण हो ।

यस हिमालको पहिलो आरोहण सन् १८६५ मा भएको थियो । त्यसयता उक्त सफलता दोहोर्‍याउने क्रममा यहाँ करिब ६०० जनाको मृत्यु भइसकेको छ । त्यसका बाबजुद हरेक वर्ष हजारौँ पर्यटक म्याटरहर्नका आरोहण मार्गतर्फ लाग्छन्, जसका कारण उनीहरूको लापरवाहीबाट नयाँ दुर्घटना हुने गरेका छन् । मानवीय कारणबाहेक मौसममा हुने तीव्र परिवर्तन, आँधीबेहरी, हिमपहिरोको उच्च जोखिम र चट्टान खस्ने घटनाले पनि यो हिमाललाई जोखिमपूर्ण बनाउँछन् ।

८. सगरमाथा

विश्वव्यापी रूपमा अग्लो र प्रसिद्ध भएकाले सगरमाथा(चोमोलुङ्मा) अर्थात् ‘विश्वको छाना’लाई अत्यन्त कठिन र सबैभन्दा जोखिमपूर्ण हिमालको सूचीमा शीर्ष स्थानमा हुनुपर्ने अनुमान गर्न सकिन्छ । तर यो पूर्ण रूपमा सही होइन ।

नेपाल र चीनको सीमामा फैलिएको हिमालयको यो विशाल शिखर समुद्री सतहबाट ८,८४८ मिटर (२९,०२९ फिट) उचाइमा रहेको विश्वकै अग्लो हिमाल हो । तर सफल आरोहण र मृत्युको अनुपात हेर्दा हाल यसको मृत्यु दर १ प्रतिशतदेखि ३.२९ प्रतिशतसम्म रहेको छ । सन् २०२३ मेमा विश्लेषणात्मक संस्था स्टाटिस्टाले ३.२९ प्रतिशतको तथ्यांक सार्वजनिक गरेको थियो । तर पहिले अवस्था यस्तो थिएन ।

तथ्याङ्क अनुसार, सन् १९२२ देखि १९९९ सम्म सगरमाथामा मृत्यु दर १४.५ प्रतिशत थियो । सन् २००० देखि २०२३ सम्म यो सबैभन्दा न्यून स्तरमा झरेको हो । हिमालयन डाटाबेसका अनुसार सन् २०२४ जनवरीसम्म ६,६६४ जना सगरमाथाको चुचुरोमा पुगिसकेका थिए भने यसको ढलानमा ३२७ जनाको मृत्यु भएको थियो ।

अधिकांश शव अझै पनि हिमालमै छन् । ‘डेथ जोन’ अर्थात् ८,००० मिटरभन्दा माथिको क्षेत्रमा अत्यन्त कठोर परिस्थितिका कारण शव निकाल्नु लगभग असम्भव हुन्छ । ८,३०० मिटर (२७,२३१ फिट) उचाइलाई ‘फर्किन नसकिने बिन्दु’ मानिन्छ । यो उचाइ पार गरेपछि प्रत्येक आरोही आफ्नै भरमा हुन्छ ।

हिमालमा हुने करिब ५९ प्रतिशत मृत्यु हिमपहिरो, बरफ खस्ने, हिउँदे आँधी र उचाइबाट खस्ने कारणले हुन्छन् । बाँकी ४१ प्रतिशत मृत्युका कारणहरू त्यति स्पष्ट छैनन् । उचाइका कारण हुने बिरामी, शीतदंश, श्वासप्रश्वासमा समस्या, हृदयाघात तथा अत्यन्त कठोर वातावरणमा रहँदा उत्पन्न हुने अन्य समस्याहरू यसमा पर्छन् । धेरै आरोहीको मृत्युको वास्तविक कारण र परिस्थिति अझै अज्ञात छन् र सगरमाथा त्यसको एकमात्र साक्षी बनेको छ ।

तसर्थ, लोकप्रिय भए पनि सगरमाथा अझै विश्वका सबैभन्दा कठिन आरोहण गर्नुपर्ने हिमालमध्ये एक हो र यसमा धेरै जोखिम छन् ।

७. धौलागिरि

धौलागिरिको दक्षिणी मोहडाबाट अहिलेसम्म कुनै आरोही चुचुरोमा पुग्न सकेका छैनन् । ८,१६७ मिटर (२६,७९५ फिट) उचाइमा रहेको यो विशाल हिमाल नेपालमा, कुख्यात अन्नपूर्णाको पश्चिमतर्फ अवस्थित छ र यो विश्वको सातौँ अग्लो हिमाल हो । यो हिमाल निश्चित रूपमा कुनै पनि व्यावसायिक आरोहीको ‘बकेट लिस्ट’मा पर्छ, तर अधिकांशका लागि यो अझै पूरा हुन नसकेको सपना नै हो ।

धौलागिरिको चुचुरोमा पहिलो सफल आरोहण सन् १९६० मा भएको थियो । त्यसयता ४८० भन्दा बढी मानिसले सोही मार्गबाट सफल आरोहण दोहोर्‍याइसकेका छन् । तर अहिलेसम्म कसैले पनि यसको दक्षिणी मोहडाबाट आरोहण गर्न सकेको छैन । सगरमाथाको चुचुरोमा अक्सिजन सिलिन्डरबिनै एक्लै पुग्ने पहिलो आरोही महान् आरोही रेनहोल्ड मेस्नरसमेत यहाँ असफल भएका थिए ।

अहिलेसम्म यस हिमालमा करिब ७० देखि ८५जनाले ज्यान गुमाएको आँकलन छ । केहीले त यो संख्या १४० सम्म हुनसक्ने बताउँछन् । हिमालयन डाटाबेसका अनुसार सन् २०२१ मा मृत्यु र सफल आरोहणको अनुपात २१.९ प्रतिशत थियो भने सन् २०२३ मा १३.५ प्रतिशत थियो ।

विशेषज्ञहरूले यहाँका ठाडा ढलान र अत्यधिक उचाइतर्फको तीव्र वृद्धि भएको मार्गलाई मुख्य चुनौतीका रूपमा औँल्याउँछन् । यसबाहेक आरोहण अभियानमा हिमपहिरोको उच्च जोखिम र अनिश्चित मौसम पनि समावेश हुन्छ ।

६. कञ्चनजङ्घा

भारत र नेपालको सीमामा रहेको कञ्चनजङ्घा यस्तो एकमात्र हिमाल हो जहाँ मृत्युका घटनाको संख्या घटेको छैन । कञ्चनजङ्घाको चुचुरो ८,५६८ मिटर (२८,१६९ फिट) उचाइमा छ र यो विश्वको तेस्रो अग्लो हिमाल हो । यहाँ मृत्यु दर १५ देखि २२ प्रतिशतसम्म रहेको छ र ५० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । तर दोहोरो अंकको यो तथ्यांक मात्र खतराको सूचीमा पर्ने कारण होइन ।

विश्वका सबैभन्दा जोखिमपूर्ण हिमाली स्लोपमा भएका मृत्युका घटना समयसँगै घट्दै गएको देखिन्छ । चरम भागबारे बढेको ज्ञान, आरोहीको व्यावसायिक दक्षतामा वृद्धि र आधुनिक उपकरण यसको कारण हुन् । तर कञ्चनजङ्घा यसको अपवाद हो ।

सन् २०१३ मा प्रसिद्ध आरोही जोल्ट एरोससहित पाँच जना आरोही—जसले ८,००० मिटरभन्दा अग्ला १४ हिमालमध्ये १० वटाको सफल आरोहण गरेका थिए । तर उनी कञ्चनजङ्घाको चुचुरोमा पुगेपछि फर्कने क्रममा बेपत्ता भए । उनीहरूको शव कहिल्यै फेला परेन । पछिल्लो १० वर्षमा यस हिमालले नौ जनाको ज्यान लिइसकेको छ ।

प्राविधिक आरोहणका दृष्टिले विशेषज्ञहरूका अनुसार यो हिमाल सबैभन्दा कठिन श्रेणीमा पर्दैन । तर ३०० पटकभन्दा कम मात्र आरोहण भएको यसको चुचुरोतर्फको यात्रा उचाइ र जलवायु परिस्थितिका कारण जोखिमपूर्ण छ । अत्यन्त परिवर्तनशील मौसम, निरन्तर हिमपहिरो र चट्टान खस्ने जोखिम, चुचुरोमा अक्सिजन अभावको सम्भावना तथा फर्कने क्रममा ४५–५० डिग्रीको स्लोपमा लड्ने जोखिमले कञ्चनजङ्घालाई विश्वकै सबैभन्दा जोखिमपूर्ण हिमालमध्ये एक बनाएको छ ।

५. मोन्ट ब्लाङ्क

मोन्ट ब्लाङ्कका स्लोपमा केही हजार मानिसको मृत्यु भएको हुन सक्ने अनुमान छ । युरोपको सबैभन्दा अग्लो हिमालका रूपमा मोन्ट ब्लाङ्कको आरोहण र दुर्घटनाको इतिहास प्रभावशाली र कहिलेकाहीँ स्तब्ध पार्ने खालको छ । यसको सुरुवात सन् १७८६ मा भएको थियो, जब ज्याक बाल्मा र मिशेल प्याकार्डले ४,८०८ मिटर (१५,७७४ फिट) उचाइको मोन्ट ब्लाङ्कको चुचुरोमा पहिलो पटक पाइला राखे । यस घटनाले आधुनिक पर्वतारोहणको सुरुवातलाई संकेत गरेको थियो ।

आज इटाली र फ्रान्सको सीमामा रहेको यो हिमाल विश्वमै सबैभन्दा धेरै आरोहण गरिने हिमालमध्ये एक हो । हरेक वर्ष करिब २० हजार मानिस यसमा आरोहण गर्छन् । तर यसको लोकप्रियता र आरोहण तुलनात्मक रूपमा सहज देखिनु नै यसलाई जोखिमपूर्ण बनाउने कारणमध्ये एक हो । मुख्य मौसममा दैनिक ३०० जनासम्म आरोही चुचुरो पुग्ने प्रयास गर्छन् र उद्धार सेवाले हरेक सप्ताहन्तमा औसत १२ वटा उद्धार अभियान सञ्चालन गर्छ ।

अत्यधिक भीडभाड भएका मार्ग र लापरवाहीका कारण मोन्ट ब्लाङ्कमा प्रत्येक वर्ष करिब १०० जनाको मृत्यु हुने गरेको उल्लेख छ । एच. डुम्लर र डब्ल्यू. बुर्खार्टको सन् १९९४ मा प्रकाशित ‘द हाई माउन्टेन्स अफ द आल्प्स’ पुस्तकमा मोन्ट ब्लाङ्कमा ६,००० देखि ८,००० मानिसको मृत्यु भएको उल्लेख गरिएको छ । यो संख्या ‘आठहजार’ हिमालसहित विश्वका अन्य कुनै पनि हिमालको भन्दा बढी हुन्छ । तर यस तथ्यांकको आधिकारिक पुष्टि भने भएको छैन ।

आरोहीको अत्यधिक चापबाहेक चट्टान खस्ने र हिमपहिरो पनि धेरै मृत्युका कारण हुन् । आरोहीहरूले विशाल बरफका चिरा र खाडल भएका भाग पार गर्नुपर्छ, जुन तातो मौसममा हिउँ खस्दा झन् खतरनाक बन्छन् । हिमालको अर्को घातक स्थान ‘कुल्वार अफ गूते’ हो, जसलाई ‘मृत्युको गल्छी’ पनि भनिन्छ । सामान्य आरोहण मार्गमा अनिवार्य रूपमा पार गर्नुपर्ने यो भागमा चट्टान खस्ने उच्च जोखिम हुन्छ । हरेक वर्ष यहाँ करिब चार आरोहीको मृत्यु हुने गर्छ ।

४. आइगर

स्विट्जरल्यान्डको आइगर आफ्नो उत्तरी मोहडाका लागि आरोहीमाझ प्रसिद्ध छ, जसलाई ‘मर्डर वाल’ अर्थात् ‘मृत्युको पर्खाल’ पनि भनिन्छ । ३,९६७ मिटर (१३,०१५ फिट) उचाइको आइगर हिमालको उत्तरी मोहडा १,८०० मिटर (५,९०६ फिट) अग्लो विशाल तथा चिराचिरा परेको चट्टानी भित्तो हो । आरोहीहरूले चिसो मौसम, तीव्र रूपमा परिवर्तन हुने मौसम तथा चट्टान र बरफ खस्ने उच्च जोखिमबिच यसलाई पार गर्नुपर्छ ।सुरक्षित मानिने पश्चिमी मोहडाबाट आइगरको पहिलो आरोहण सन् १८५८ मा क्रिस्टियन अल्मर, पिटर बोरेन र चाल्र्स बारिङ्टनले गरेका थिए । ‘उत्तरी मोहडा’ जित्न आरोहीहरूलाई त्यसपछि थप ८० वर्ष लाग्यो । अहिलेसम्म चुचुरोमा पुग्ने प्रयासका क्रममा कम्तीमा ६४ आरोहीको मृत्यु भएको छ ।

पछिल्ला वर्षहरूमा सफल आरोहण अभियानको संख्या बढेर करिब ७०० पुगे पनि यो हिमाल अझै सबैभन्दा जोखिमपूर्णमध्ये एक छ । विश्वका अग्ला हिमालहरूको सफल आरोहण गरिसकेका बेलायती आरोही केन्टन कूलले नर्डवान्डबारे यसरी वर्णन गरेका छन्, ‘यो हिमाल युरोपको सबैभन्दा ठूलो अल्पाइन आरोहणमध्ये एक हो । यसको उत्तरी मोहडाको मार्ग निकै प्रसिद्ध छ । तर यो कुख्यात रूपमा जोखिमपूर्ण पनि छ, मौसम राम्रो हुँदा यो अद्भुत हुन्छ, तर यसको आफ्नै मौसम प्रणाली छ र धेरै छिट्टै अत्यन्त खतरनाक बन्न सक्छ ।’

३. नाङ्गा पर्वत

पकिस्तानको नाङ्गा पर्वतको चुचुरोमा सफल आरोहण अझै पनि अत्यन्त दुर्लभ उपलब्धि हो । ८,१२६ मिटर (२६,६६० फिट) उचाइ मात्र यसलाई सबैभन्दा जोखिमपूर्ण बनाउने कारण होइन । चुचुरोतर्फको मार्ग साँघुरो धार हुँदै जान्छ र दक्षिणतर्फ करिब ५,००० मिटर (१६,४०४ फिट) अग्लो र पृथ्वीको सबैभन्दा ठूलो चट्टान तथा बरफको पर्खाल मानिने रुपाल मोहडा छ । यसले अनुभवी आरोहीलाई समेत शारीरिक सीमासम्म धकेल्न सक्छ । यही कारण नाङ्गा पर्वतलाई ‘म्यान–इटर’ र ‘किलर माउन्टेन’जस्ता उपनाम दिइएको छ ।

सुरक्षित मानिएको मार्गबाट पहिलो सफल आरोहण सन् १९५४ मा जर्मन–अस्ट्रियाली अभियानका हर्मन बुहलले गरेका थिए । त्यसअघि नाङ्गा पर्वतले कम्तीमा ३१ आरोहीको ज्यान लिइसकेको थियो । ४० देखि ९० डिग्रीसम्मको स्लोप भएको रुपाल मोहडा सन् १९७० मा मात्र जितिएको थियो । त्यसयता केही आरोहीले मात्र यो सफलता दोहोर्‍याउन सकेका छन् । सन् १९९० सम्म यस हिमालको मृत्यु दर ७७ प्रतिशतसम्म पुगेको थियो भने अहिले यो २०.७ देखि २२ प्रतिशतको बिचमा रहेको छ ।

मौसम पनि यसको कठिनाइको अर्को महत्वपूर्ण कारण हो । नाङ्गा पर्वत पश्चिमी हिमालयमा तल्लो उचाइका पहाडहरूले घेरिएको स्थानमा रहेको छ । त्यसैले यहाँ अत्यन्त शक्तिशाली हावा र अत्यन्त परिवर्तनशील मौसमको सामना गर्नुपर्छ । लामो समयसम्म यो हिमाल पर्वतारोहण इतिहासकै सबैभन्दा घातक दुर्घटनाको स्थल थियो । सन् १९३४ मा १० जनाको मृत्यु भएको थियो । आरोहणको सुरुवातमै अल्फ्रेड ड्रेक्सेलको मृत्यु भयो । पछि शक्तिशाली आँधीले ढलानमा प्रहार गरेपछि टोलीले सुरक्षित स्थानतर्फ फर्कने निर्णय गर्‍यो । तर मर्कलसहित नौ जनाको थकान, उचाइका कारण भएको बिरामी र कठोर मौसमको सम्पर्कमा परेर मृत्यु भयो । आँधीमा एक साता बिताएपछि एङ ट्सेरिङ मात्र जीवित रहे र एक्लै हिमालबाट तल झरे ।

२. के–२

के–२ मृत्यु दर २३–२५ प्रतिशतसहित जोखिमका हिसाबले दोस्रो स्थानमा छ । विश्वको दोस्रो अग्लो हिमाल तथा पृथ्वीको सबैभन्दा उत्तरी ‘आठहजार’ शिखर के–२ पाकिस्तान र चीनको सीमामा अवस्थित छ र यसको उचाइ ८,६११ मिटर (२८,२५१ फिट) छ । काराकोरम–२, के–२, चोगोरी तथा ‘सेभेज माउन्टेन’ नामले चिनिने यस हिमालको आरोहणसम्बन्धी विश्वसनीय तथ्यांक उपलब्ध छैन । तर अन्नपूर्णापछि मृत्यु दरका हिसाबले यो दोस्रो स्थानमा रहेकाले विश्वको दोस्रो सबैभन्दा घातक हिमाल मानिन्छ ।

आरोहीहरूले के–२ लाई बरफ, हिउँ र चट्टानले बनेको विशाल पिरामिडका रूपमा वर्णन गर्छन् । चुचुरो पुग्ने तुलनात्मक रूपमा सहज मार्गमा समेत हिमनदी पार गर्दै अत्यधिक तापक्रम, शक्तिशाली हावा, हिमपात र अक्सिजनको अभावबिच ठाडा चट्टान चढ्नुपर्छ । केही कम्पनीले के–२ र नजिकैको अर्को कठिन आठहजार हिमाल ब्रड पिकको संयुक्त आरोहणसमेत प्रस्ताव गर्छन् ।

हिमालको सबैभन्दा जोखिमपूर्ण भागमध्ये एक ‘बोटलनेक’ हो । यहाँ आरोहीहरूले बाहिर निस्किएको बरफको संरचना पार गर्नुपर्छ । यस क्षेत्रमा अस्थिर बरफका टुक्रा प्रायः आरोहीसहित खस्ने गर्छन् । तैपनि यो चुचुरो पुग्ने सबैभन्दा छोटो मार्ग हो, जसले ८,००० मिटरभन्दा माथिको मानव शरीरका लागि अत्यन्त कठिन ‘डेथ जोन’मा बिताउनुपर्ने समय घटाउँछ ।

विश्वको दोस्रो अग्लो के–२ सगरमाथाभन्दा बढी घातक छ । अधिकांश विश्लेषकहरूले अन्य ‘आठहजार’ हिमालको तुलनामा के–२ को मृत्यु दर करिब २३–२५ प्रतिशत रहेको र यो दोस्रो स्थानमा रहेको बताउँछन् । के–२ लाई प्रायः विश्वमा चढ्न सबैभन्दा कठिन र सबैभन्दा जोखिमपूर्ण हिमालमध्ये एक मानिन्छ ।

एलन अर्नेटले के–२ आरोहणको प्रयासमा ९० भन्दा बढी मानिसको मृत्यु भएको बताएका छन् । उनले आफ्नै के–२ आरोहणलाई अत्यन्त कठिन अनुभवका रूपमा वर्णन गरेका छन् । उनका अनुसार शारीरिक तनाव यति चरम हुन्छ कि आरोहीहरू अत्यन्त भोकाएका र थकित हुन्छन्, उनीहरूले खाना खान वा सुत्नसमेत नसक्ने अवस्था आउँछ । त्यसो त के–२ को चुचुरोमा पुग्ने मानिसभन्दा अन्तरिक्षमा जाने मानिसको संख्या बढी छ भने चुचुरोमा पुगेर जीवित फर्कने प्रत्येक चार जनामध्ये एक जनाको मृत्यु हुन्छ । सन् २००८ को अगस्टमा विभिन्न टोलीका ११ आरोहीको स्लोपमा मृत्यु भयो भने अन्य तीन जना घाइते भए । मृत्युका यी शृंखलाबद्ध घटना र हिमपहिरोका सम्पूर्ण परिस्थितिहरू अझै स्पष्ट छैनन् ।

१. अन्नपूर्ण

विश्वमा आरोहण गर्न सबैभन्दा जोखिमपूर्ण हिमाल नेपालको अन्नपूर्ण हो, जुन आरोहीको अत्यन्त उच्च मृत्यु दरका कारण कुख्यात छ । ८,०९१ मिटर (२६,५४५ फिट)उचाइको विश्वको दशौँ अग्लो हिमाल अन्नपूर्णको आरोहण इतिहास निकै भयावह छ । यसमा विश्वका सबैभन्दा उच्च मृत्यु दरमध्ये एक रहेको छ ।

सन् २०१२ सम्म १९१ आरोही अन्नपूर्णको चुचुरोमा पुगिसकेका थिए भने कम्तीमा ६१ जनाको मृत्यु भएको थियो । तीमध्ये ५२ जनाको आरोहणका क्रममा र नौ जनाको अवतरणका क्रममा मृत्यु भएको थियो ।
सन् २०१४ मा अन्नपूर्ण र आसपासका क्षेत्रमा आएको हिमआँधीले हिमपहिरो निम्त्यायो र ४३ जनाको ज्यान लियो । त्यतिबेला स्लोपमा कति मानिस थिए भन्ने यकिन छैन, तर पछिल्ला स्रोतहरूले हिमालमा कम्तीमा ७२ जनाको मृत्यु भएको उल्लेख गरेका छन् ।

सन् २०२३ मेसम्म अन्नपूर्णको मृत्यु दर २७.२ प्रतिशत थियो । यो ‘आठहजार’ हिमालमध्ये यस सूचकमा सबैभन्दा उच्च हो । अन्नपूर्णभन्दा ८०० मिटर (२,६२५ फिट) अग्लो सगरमाथाको चुचुरोमा ६,००० भन्दा बढी मानिस पुगिसकेका छन् । तर अन्नपूर्णको चुचुरोमा रेकर्ड राख्न थालिएदेखि केही सय मानिस मात्र पुग्न सकेका छन् । यसका मार्गहरू विश्वका उत्कृष्ट आरोहीले मात्र छिचोल्न सक्ने खालका छन् ।

अन्नपूर्णलाई जोखिमपूर्ण बनाउने लगभग सबै कारण छन् । ठाडा चट्टानी भाग, अनिश्चित मौसम, आँधीको उच्च जोखिम, हिमपहिरो र उच्च उचाइमा अत्यन्त न्यून तापक्रमका कारण यसको आरोहण लगभग दुर्लम छ । जनघनत्व भएका क्षेत्रबाट हिमाल टाढा हुनु पनि अर्को जोखिम हो । आपत्कालीन अवस्था आएमा सुरक्षित स्थानमा छिटो पुग्न वा तत्काल उद्धार सहायता प्राप्त गर्न सम्भव हुँदैन । त्यसैले अन्नपूर्णलाई कहिल्यै पनि कम आँकिदैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖