• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’


  • धनकुटा खबर
  • .

मुम्बई, २६ असोज । विद्या बालन, नसीरुद्दीन शाह, इमरान हाश्मी र तुषार कपुरको अभिनय रहेको सन् २०११ को चर्चित चलचित्र ‘द डर्टी पिक्चर’ को सिक्वेल बन्ने भएको छ।

 

निर्मात्री एकता कपुरले एक अन्तर्वार्तामार्फत आगामी सिक्वेल बन्ने कुराको आधिकारिक रूपमा पुष्टि गरेकी छिन्।

 

रणवीर अलाहावादियासँगको पोडकास्ट कुराकानीका क्रममा उनले आगामी सिक्वेलमार्फत दर्शकसामु एउटा नयाँ कथा प्रस्तुत गर्ने योजना रहेको खुलासा गरिन्। ‘द फ्री प्रेस जर्नल’ सँगको कुरालाई उद्धृत गर्दै एकताले भनिन्, “मैले बनाइरहेको एउटा निकै ठूलो चलचित्र ‘द डर्टी पिक्चर २’ हो। म १५ वर्षपछि यसको योजना बनाउँदै छु। यसपटक, मलाई लाग्छ कि मसँग एउटा यस्तो कथा छ, जुन म भन्न चाहन्छु।”

 

उनले थपिन्, “पहिलो चलचित्र सिल्क स्मिताको कथा थियो। यो एक यस्ती महिलाको कथा थियो, जसलाई आफ्नो यौनिकताको पक्षमा उभिएकै कारण आलोचनाको सिकार बनाइएको थियो। यौनिकता भनेको त आफ्नो रोजाइको कुरा हो। मैले उनलाई कहिल्यै पीडितका रूपमा हेरिनँ, बल्कि आफ्नो यौनिकतालाई खुलेर आत्मसात गर्ने व्यक्तिका रूपमा प्रस्तुत गरें र चलचित्रले निकै राम्रो सफलता पायो।”

 

एकताले ‘द डर्टी पिक्चर २’ पनि सिल्क स्मिताजस्तै कुनै चर्चित व्यक्तित्वको जीवनमा आधारित हुने सङ्केत दिएकी छिन्। यद्यपि, यसमा कसको जीवनकथा समेटिने हो र यसका कलाकार तथा प्रदर्शन मिति कस्तो हुनेछ भन्नेबारे उनले खुलाएकी छैनन्। चाँडै नै यसको औपचारिक घोषणा गर्ने उनको भनाइ छ।

 

सन् २०११ को डिसेम्बरमा रिलिज भएको ‘द डर्टी पिक्चर’ दक्षिण भारतीय अभिनेत्री सिल्क स्मिताको जीवनमा आधारित थियो। छोटो समयमै अपार ख्याति कमाएकी उनको ३८ वर्षको उमेरमा निधन भएको थियो। पहिलो चलचित्रको अपार सफलतापछि यसको सिक्वेल घोषणा भएसँगै चलचित्रप्रेमीहरूमा यसप्रति उत्सुकता बढेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖