नयाँ दिल्ली । बलिउड अभिनेता गोविन्दाको स्वास्थ्य अचानक बिग्रिएको छ । शनिबार महाराष्ट्रको जलगाउँ जिल्लामा सत्तारुढ महायुती गठबन्धनको लागि रोड शोमा रहँदा अभिनेताको स्वास्थ्य बिग्रिएको हो ।
त्यसपछि रोड शोबिचमै छोडेर अभिनेता मुम्बई फर्किएका थिए । एक्कासी गोविन्दाको स्वास्थ्य बिग्रिएको देखेर भीडमा अत्यास देखिएको थियो । एक्कासी उनको छाती दुख्न थालेको बताइएको छ । अभिनेता अहिले ठिक रहेको गोविन्दाका नजिकका एक व्यक्तिले बताएका छन् । उनले थाकेको र असहज महसुस गरिरहेका थिए भनेर भनिएको छ । यद्यपि गोविन्दाबाट यसको आधिकारिक पुष्टि भने भएको छैन ।
गोविन्दाले जलगाउँको मुक्ताईनगर, बोदवाड, पचोरा र चोपडामा महायुतीका उम्मेदवारहरूको लागि प्रचार गरिरहेको पिंकभिल्लाले एउटा समाचारमा बताएको थियो ।
रोड शोको क्रममा उनले भीडलाई प्रधानमन्त्री नरेन्द्र मोदीलाई समर्थन गर्न र सत्तारूढ गठबन्धनलाई भोट गर्न आग्रह गरेका थिए । मुख्यमन्त्री एकनाथ शिन्देको नेतृत्वमा रहेको शिवसेनामा प्रवेश गरेपछि गोविन्दाले राजनीतिमा पुनः प्रवेश गरेका थिए । महाराष्ट्रका सबै २८८ सिटका लागि नोभेम्बर २० मा मतदान हुँदैछ । मतगणना नोभेम्बर २३ मा हुनेछ ।
