• Wednesday 21st of October 2026

बाबुरामलाई पुराना दलमा छैन विश्वास कत्ति, हर्क-बालेनदेखि रविसम्मलाई बनाउन खोजे सारथि


  • धनकुटा खबर
  • .

काठमाडौं, ९ असोज । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का निवर्तमान अध्यक्ष डा.बाबुराम भट्टराईले पुराना दल कांग्रेस, एमाले र माओवादीका नेताहरु सच्चिने मनस्थितिमा नरहेको बताएका छन् । आज (बिहीबार) पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अबको निर्वाचनमा वैकल्पिक राजनीतिक शक्तिहरुले पुराना राजनीतिक शक्तिका विरुद्धमा मोर्चाबन्दी गर्नुपर्ने बताएका हुन् । कांग्रेस, एमाले र माओवादीमा सच्चिने कुनै सम्भावना नदेखिएको र त्यो दलभित्रका नयाँ पुस्ताले विद्रोह गरेर साथ दिनुपर्ने उनले बताए ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता डा.भट्टराईले अब नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), विवेकशील साझा, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचनका बेलमा स्वतन्त्र रुपमा उदायका बालेन्द्र शाह, हर्क साम्पाङलगायतका शक्तिहरु एक ठाउँमा आएर सहकार्य गर्नुपर्ने उनले बताए । यी शक्तिहरु सकेसम्म खास एजेण्डामा केन्द्रीत भएर एउटै दल बन्नुपर्ने र त्यो सम्भव नभएको खण्डमा मोर्चाबन्दी हुनुपर्ने उनको भनाइ छ ।

‘नयाँ शक्ति, उज्वल थापाजीले अगाडि बढाउनुभएको विवेकशील साझा पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचनको बेलामा उदय भएका बालेन्द्र शाह, हर्क साम्पाङलगायतको जो व्यक्तिहरु हुनुहुन्छ, पछिल्लो चरणमा नयाँ पुस्ता अगाडि आएको छ । तपाईँहरु एक ठाउँमा आउने र सहकार्य गर्ने वातावरण तपाईँहरुले बनाउनुपर्छ । सकेसम्म मिल्नेजतिले खास एजेण्डाहरुमा केन्द्रीत भएर एउटै शक्ति बनाउने । अहिलेको जुन संघीय लोकतान्त्रिक गणतन्त्रको जुन संविधान छ, त्यसमा टेक्ने । यो भन्दा पछाडि फर्किने होइन । यसमा टेकेर कति थप्न सकिन्छ, थप्ने । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र यिनलाई साझा विन्दु मानेर वैकल्पिक शक्तिहरु तपाईँहरु सबै एक ठाउँमा आउने प्रयत्न गर्नुृहोस्,’– उनले भने ।

नेता डा.भट्टराईले अब जेन–जी पुस्ताले दवाब सिर्जना गरेर शासकीय प्रणालीमा सुधार गरिनुपर्ने आवश्यकता औंल्याए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीप् र पूर्ण समानुपातिक संसद् अहिलेको आवश्यकता रहेको बताए । यही प्रणालीमा निर्वाचनमा जाँदा पुरानै शक्तिहरु आउने खतरा धेरै रहेको र पुराना दलहरुले आफूहरुले जित्ने सुनिश्चित नहुन्जेलसम्म निर्वाचन गराउनै नचाहने बताए ।

उनले भने, ‘अबको निर्वाचन फेरि पुरानै प्रणालीअन्तर्गत गरियो भने पुरानै शक्ति आउने खतरा रहन्छ । त्यसैले जेन–जी पुस्ताले दवाब सिर्जना गरेर शासकीय प्रणालीमा सुधार गरिनुपर्छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक संसद् नभएसम्म देशमा स्थिरता हुँदैन भन्ने दवाब सिर्जना गरेर अगाडि बढेपछि निर्वाचन सुनिश्चित होला । नत्र यी शक्तिहरुले यही पुरानै ढंगले सकभर उनीहरुले नजित्नेबेलासम्म गर्दैगर्दैनन् । गरेभने यही पुरानो प्रणालीअन्तर्गत गर्छन् ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖