भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सामान्य देखाउन भन्दै सरकारले सडकमा न्यून प्रहरी परिचालन गरे पनि संसद् भवन भित्रै ठूलो संख्यामा सुरक्षा बल तैनाथ गरी योजनाबद्ध रूपमा गोली प्रहार गरिएको तथ्यांक सार्वजनिक भएको छ।
प्रहरीको प्रारम्भिक प्रतिवेदनअनुसार काठमाडौं उपत्यकामा मात्र दुई दिनमा १३ हजार १८२ पटक फायरिङ भएको छ। यसमध्ये २ हजार ६४२ धातुका गोली (Metal Bullets), १ हजार ८८४ रबर बुलेट, २ हजार ३७७ ब्ल्याङ्क फायर र ६ हजार २७९ सेल अश्रुग्यास प्रहार भएको उल्लेख छ।
“यो त प्रहरीको प्रारम्भिक विवरण मात्र हो। वास्तविक संख्या अझै बढ्न सक्छ,” गृह मन्त्रालयका एक अधिकारीले भने। तर, यति ठूलो संख्यामा फायरिङ भएको स्पष्ट तथ्य आउँदा पनि तत्कालीन सरकारले ‘गोली चलाइएका छैनन्’ भन्ने दाबी गरेकोप्रति गम्भीर प्रश्न उठेको छ।
तत्कालीन गृहमन्त्री रमेश लेखकको निर्देशनमा आन्दोलनलाई ‘सामान्य’ देखाउने नाममा सडकमा न्यून प्रहरी राखिएको तर संसद भवनभित्र ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको बताइन्छ। प्रदर्शनकारीलाई संसद परिसर भित्र छिर्न दिएपछि अन्धाधुन्ध गोली प्रहार हुँदा ठूलो मानवीय विपत्ति निम्तिएको स्रोतले जनाएको छ।
यससँगै जेनजी आन्दोलन दमनबारे उच्चस्तरीय छानबिन आयोगले अघि बढाउने अनुसन्धानको दिशा अझ संवेदनशील बन्ने देखिएको छ।
