काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आवस् भन्ने सपना देखेका नेपालीहरूलाई संगठित रूपमा निर्वाचनमा भाग लिन आग्रह गरेका छन्।
उनका अनुसार पुराना, कुहिएका नेताहरू फालेर स्वच्छ र दृढ सङ्कल्प भएका युवा नेताहरूको अत्यधिक बहुमतको सरकार नबनाएसम्म ठूलो परिवर्तन सम्भव छैन। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उनले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो आह्वान गरेका हुन्।
मन्त्री पुनले भनेका छन्, “भ्रष्टाचारलाई सकेसम्म कम गरेर सारा जनतालाई सुशासन दिने सरकार बनोस्, नेपाल आर्थिक रूपमा सम्पन्न बनोस्, विदेशीहरूले चलखेल गर्न नपाउन् र प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आवस् भन्ने सपना देख्नुभएका सम्पूर्ण नेपालीहरूले योग्य, नैतिकवान् र दृढ सङ्कल्प भएको युवा जनप्रतिनिधिहरू छान्न कत्ति पनि झैझगडा नगरीकन संगठित रूपमा चुनावमा भाग लिने तयारीमा लाग्नुपर्छ।”
यही क्रममा उनले “कुहिएका नेताहरू फालेर मात्रै ठूलो परिवर्तन सम्भव हुने” जिकिर पनि गरेका छन्। अहिले जेनजी आन्दोलनका मागमध्ये प्रत्यक्ष रूपमा चुनिएको सरकार प्रमुख हुनुपर्ने विषय प्रमुख रूपमा उठिरहेको छ।
तर प्रधानमन्त्री सुशीला कार्कीले भने यो माग तत्कालीन अन्तरिम सरकारको कार्यक्षेत्रभित्र नपर्ने बताएकी छन्। बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले शासकीय स्वरूप परिवर्तन गर्न संविधान संशोधन आवश्यक हुने उल्लेख गर्दै भनिन्, “संविधान र शासकीय प्रणालीसम्बन्धी संशोधनलगायतका विषय वर्तमान सरकारको कार्यक्षेत्रभन्दा बाहिरका छन्। त्यसैले युवा पुस्तालगायत परिवर्तन चाहने सबैलाई आगामी निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियामार्फत संविधान संशोधन गर्न आग्रह गर्दछु।”
