प्रधानसेनापति अशोकराज सिग्देलले भदौ २४ गतेको जेन–जी आन्दोलनमा नेपाली सेनालाई सडकमा ननिकाल्नुको कारण खुलाएका छन्।
उनका अनुसार सिंहदरबारलगायत महत्त्वपूर्ण सम्पदा जले पनि थप नेपाली युवाको रक्तपात हुन नदिन र नेपाल विदेशी शक्तिको खेलमैदान नबनोस् भन्ने सोचले सेना ब्यारेकभित्रै राखिएको थियो।
स्रोतका अनुसार, २३ गते १९ जनाको मृत्यु भएपछि सिग्देलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चारपटकसम्म राजीनामा दिन आग्रह गरेका थिए तर ओलीले अस्वीकार गरेका थिए। आन्दोलन हिंसात्मक भएपछि २४ गते सेनाले नियन्त्रण लिँदै कर्फ्यू लगाएको थियो।
सिग्देलले आन्दोलनताका गोली नचलाउने निर्णय प्रहरी, सशस्त्र प्रहरीसँगको सहमतिमा गरेको बताएका छन्। तर परिस्थिति झनै बिग्रँदै जाँदा उनले ओलीलाई ‘राजीनामाबिना सुरक्षा सम्भव छैन’ भनेर दबाब दिएको र अन्ततः ओलीले राजीनामा स्वीकृत गरेको सैनिक अधिकारीहरूको दाबी छ।
