भदौ २३ को जेनजी आन्दोलनमा १९ जना मारिएपछि आन्दोलन झन् व्यापक बनेको थियो। सिंहदरबारलगायतका संरचनामा आगजनी र तोडफोड भए पनि नेपाली सेनाले प्रत्यक्ष दमनमा नजाने निर्णय गरेको थियो।
प्रधानसेनापति अशोकराज सिग्देलका अनुसार थप युवाको रगत नबगोस् र नेपाल विदेशी शक्तिको खेलमैदान नबनोस् भन्ने सोचले सेना ब्यारेकभित्रै राखिएको हो।
सेना निकट स्रोतका अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिग्देलले पटक पटक राजीनामाका लागि आग्रह गरेका थिए तर उनले अस्वीकार गरेका थिए। बालुवाटारमा पुगेका सेनाप्रमुखलाई ओलीले उल्टै आक्रोश व्यक्त गरेका थिए। तर परिस्थिति झन् नियन्त्रणबाहिर गएपछि, देउवा परिवारमाथि आक्रमण र राजधानीमा थप तनाव बढेपछि मात्रै ओली राजीनामामा सहमत भएका थिए।
सुरक्षाकर्मीहरूलाई सडकमा नल्याउने निर्णय सेना, प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूले संयुक्त रूपमा गरेका थिए। यस निर्णयपछि तत्कालीन सत्ताले आन्दोलनलाई दमन गरेर नियन्त्रण गर्ने विकल्प हरायो। अन्ततः सेना गोली चलाएर ओली सरकार जोगाउनेतर्फ नलागी संविधान र जनजीवनलाई कम क्षतिमा निकास निकाल्ने दिशातर्फ लागेको स्पष्ट भएको छ।
