• Wednesday 21st of October 2026

रास्वपा नेताहरूलाई सुमनाको प्रश्नः नख्खुमा इज्जतसँगै मानवता पनि जलाएको हो?


  • धनकुटा खबर
  • .

काठमाडौ । रास्वपाकी पूर्वनेता तथा सांसद सुमना श्रेष्ठले पार्टीभित्रकै कार्यकर्तामाथि आक्रोश पोख्दै आफूविरुद्ध गरिएको झुटा प्रचारप्रति कडा प्रतिक्रिया दिएकी छन्। शनिबार फेसबुकमा सार्वजनिक चार बुँदामा उनले व्यक्तिगत स्वार्थका लागि नैतिकता र राजनीतिक मूल्य बेच्ने प्रवृत्तिलाई ‘अवसरवाद’ र ‘हुतिहारापन’को संज्ञा दिइन्।

श्रेष्ठले आफूलाई जंगी अड्डा जानबाट रोकिन् भन्ने झुटो प्रचारको प्रसंग निकाल्दै सोधिन्, “हामीलाई सुमनाले लाइभ आएर जंगी अड्डा जानबाट रोकिन् भनी मेरो विरुद्ध प्रचार गर्न सक्ने गरी इमान कुन ठाउँमा मिल्काएर आउनुभयो? नख्खुमा इज्जतसँगै मानवता पनि जलाउनुभयो र?”

उनले भ्रम र झुटको बादल कहिल्यै नटिक्ने भन्दै सत्यको कसीमा अवसरवाद र कायरताको परीक्षण हुने चेतावनी दिइन्। “लालच झाङ्गिदा अवसरवाद मौलाउँछ, निरिहताले जरा गाड्दा हुतिहारापन फस्टाउँछ,” भन्दै उनले लोकप्रियताको नाममा मौन बस्ने प्रवृत्तिलाई पनि आक्रमण गरिन्।

जेनजी आन्दोलनको सन्दर्भ जोड्दै उनले आन्दोलनको उद्देश्यलाई दुर्गा प्रसाईंजस्ता पात्रको एजेन्डामा मिसाउन खोजिएकोमा असन्तोष प्रकट गरिन्। “आन्दोलनरत युवाले कुनै राजनीतिक पार्टीको झण्डा वा एजेन्डा बोकेर आउनु हुँदैन भनेका बेला यस्तो प्रचार गर्नु जनताप्रति गद्दारी हो,” उनले लेखेकी छन्।

श्रेष्ठले वैकल्पिक राजनीतिमा आउनेहरूलाई पनि प्रश्न गर्दै भनिन्— तपाईंहरू देश बनाउन र नयाँ राजनीतिक संस्कृतिको अभ्यास गर्न आउनुभएको हो, कि नयाँ शेरबहादुर, नयाँ प्रचण्ड वा नयाँ केपी बन्न? उनले अन्त्यमा सत्य र इमानप्रति प्रतिबद्ध रहने प्रतिज्ञा गरेकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖