काठमाडौ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको हठ, घमण्ड र अहङ्कारकै कारण मुलुक र नेकपा (एमाले) दुबै डुबेको टिप्पणी गरेका छन्।
सर्लाहीको लालबन्दीमा आजपा मधेस प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै साहले ओलीले युवाको आक्रोश बुझ्नुको साटो प्रहार गरेको र यसले मुलुकलाई अझ संकटतर्फ धकेलेको बताए।
उनले ‘अब गुण्डुमा गुण्डा भेला गर्नुको साटो सार्वजनिक रूपमा माफी मागेर राजनीतिबाट सन्यास लिनुहोस्, त्यसमै एमालेको भलो छ’ भन्दै ओलीलाई सुझाव दिएका छन्।
साहले वर्तमान संविधानबाट समाधान सम्भव नभएको दाबी गर्दै अन्तरिम सरकार र अन्तरिम संविधानमार्फत मात्रै मुलुकले निकास पाउने बताए।
उनले भ्रष्ट नेताहरूले सम्पत्ति विदेश लैजाने प्रथालाई रोक्नुपर्ने, जेनजी आन्दोलनका सहिद परिवारलाई प्रतिनिधित्व दिलाउनुपर्ने र शक्तिशाली राष्ट्रहरूको चलखेलविरुद्ध सतर्क हुनुपर्नेमा जोड दिएका छन्।
