मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई जेन–जी आन्दोलनमा पश्चिमाको गोटी बनेर पर्दा पछाडिबाट राजनीति खेलेको आरोप लगाएका छन्। विजय दशमी, तिहार र छठका अवसरमा शुभकामना सन्देश दिँदै उनले हालैको आन्दोलनबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
उनले आन्दोलन सुरुमा विचारपूर्ण भए पनि पछिल्लो चरणमा पश्चिमी हस्तक्षेपका कारण यसको स्वरूप बिग्रिएको दाबी गरे। सिंहदरबार र सर्वोच्च अदालतजस्ता ऐतिहासिक सम्पदामा आगजनी हुनु नेपाली जनताको लागि दुःखद भएको बताउँदै उनले त्यस्तो संवेदनशील बेला मेयर साह र नगर प्रतिनिधि मौन बस्नु दुखदायी भएको टिप्पणी गरे।
प्रसाईँले बारबरा फाउन्डेशनसहितका संस्थामार्फत पश्चिमी प्रभाव नेपालमा प्रवेश गरेको र यसको असर भविष्यमा गम्भीर हुने चेतावनी पनि दिए। साथै उनले मेयर साहले छात्रवृत्ति, एम्बुलेन्स वितरण र सडक बत्ती जस्ता कामलाई निजी सम्पत्तिबाट भएकोजस्तो देखाएर प्रचारबाजी गरेको आरोप लगाए।
सिंहदरबारमा भएको आगजनीलाई ‘इतिहासमा अपराधका रूपमा दर्ज हुने घटना’ भन्दै प्रसाईँले नेपाली जनतालाई सचेत रहन आग्रह गरेका छन्।
