• Wednesday 21st of October 2026

पार्टी सुध्रिने संकेत देखिएन भन्दै एमालेबाट निर्वाचित वडा अध्यक्षले गरे एमालेको साधारण सदस्यता परित्याग


  • धनकुटा खबर
  • .

वीरगन्ज महानगरपालिका–२० का वडाध्यक्ष रामकिशोर सिंह परागले नेकपा (एमाले) को साधारण सदस्यता समेत परित्याग गरेका छन्। जेन–जी आन्दोलनका क्रममा पार्टीको उपाध्यक्ष पदबाट राजीनामा घोषणा गरिसकेका परागले बुधबार पुनः सार्वजनिक रूपमा पार्टी परित्यागको घोषणा गरेका हुन्।

वीरगन्ज–१० स्थित घडिअर्वा पोखरी पार्कमा जेन–जी युवाहरूको भेलामा सहभागी हुँदै परागले भने, “मैले असोज ६ गते नै एमालेको साधारण सदस्यबाट राजीनामा दिएको थिएँ। तर त्यो कुरा मिडियामा आएको थिएन, त्यसैले आज सार्वजनिक गरेको हुँ।”

परागले पार्टीभित्र सुधारको कुनै संकेत नदेखिएको र सुशासन र परिवर्तनको चाहना राख्ने नागरिकहरूको आवाज एमालेले बेवास्ता गरेको कारण पार्टी छोड्ने निर्णय गरेको बताए। उनले थपे, “अब म कुनै राजनीतिक दलमा छैन, म नयाँ पुस्ता र जेन–जी आन्दोलनसँगै रहन्छु।”

त्यस्तै, एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्माले भने परागको राजीनामाबारे औपचारिक जानकारी नआएको प्रतिक्रिया दिएका छन्। उनले भने, “लिखित रूपमा राजीनामा आएको छैन। आएपछि मात्रै पार्टीले त्यसबारे निर्णय लिन्छ।”

परागको राजीनामा पछिल्ला दिनमा जेन–जी आन्दोलनको प्रभाव एमालेभित्र वडास्तरसम्म फैलिन थालेको संकेतका रूपमा हेरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖