• Wednesday 21st of October 2026

‘जबसम्म सक्छु तबसम्म नेतृत्व छोड्दिनँ’ भन्दै ओलीको हठ, एमाले फेरि पुरानै बाटोमा


  • धनकुटा खबर
  • .

काठमाडौ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको ताजा वक्तव्यले फेरि पार्टीभित्रको ‘पुस्तान्तरणको सपना’ टाढा धकेलिएको छ।

भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि सत्ताबाट बाहिरिएका ओलीले फेरि नेतृत्वमा आफ्नो ‘अनन्त पकड’ कायम राख्ने घोषणा गर्दै पार्टीभित्रको नयाँ पुस्ताको उत्साहमाथि ठाडो चोट पुर्‍याएका छन्।

ओलीले भर्चुअल रूपमा जिल्ला अध्यक्षहरूसँग बोलेका शब्दहरू, ‘जबसम्म सक्छु, तबसम्म नेतृत्व छोड्दिनँ’ अब उनको ‘राजनीतिक हठ’ को प्रमाण बन्न पुगेको छ।

नेतृत्व हस्तान्तरण र पुनर्गठनको चर्चा चर्किरहेका बेला यस्तो अडान, धेरै नेताहरूका अनुसार, “एमाले फेरि पुरानै ओली–केन्द्रित घेरामा फस्ने सङ्केत” हो।

पार्टी स्रोतका अनुसार, ओलीले हाल गुन्डुस्थित निवासबाटै सबै गतिविधि नियन्त्रण गरिरहेका छन्, तर पार्टीभित्र असन्तुष्टि र थकान दुवै बढ्दै गएको छ।

एक केन्द्रीय सदस्यले भने, “ओलीले पार्टीलाई आफ्नै अडानको बन्दी बनाएका छन्, नयाँ पुस्ताले नेतृत्व गर्ने सम्भावना उनले फेरि बन्द गरे।”

उनले सम्बोधनमा आफूविरुद्धको आन्दोलनलाई षड्यन्त्र भन्दै आत्मरक्षात्मक शैली अपनाए, तर देश, पार्टी र विचार सबैको नाममा आफूलाई ‘अविकल्प नेता’ ठहराउने कोशिश पनि गरे।
तर विश्लेषकहरूको भनाइमा, “अव ओलीको समस्या विरोधी नेताहरू होइनन्, उनको आफ्नै अतीत र हठ नै हो।”

एमालेको आगामी सचिवालय र केन्द्रीय कमिटी बैठक यही असोज २४ देखि २९ गतेसम्म बस्दैछ।

तर, बैठकअघि ओलीको यस्तो वक्तव्यले स्पष्ट गरेको छ, एमालेभित्र ‘नेतृत्व हस्तान्तरण’ होइन, ‘नेतृत्व स्थायित्व’ को युद्ध फेरि सुरु भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖