भोलि (असोज २३ गते) हुने तय गरिएको एनटेक–जेड (NTEK-Z) नामक जेनजी समूहको शान्तिपूर्ण आन्दोलन स्थगित गरिएको छ। आन्दोलन स्थगित गरिएको जानकारी संगठनले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै दिएको हो।
सो समूहको केन्द्रीय पदाधिकारीहरूले बुधबार बसेको बैठकमा विभिन्न अराजक तत्वहरूले आन्दोलन विथोल्ने प्रयास गर्नसक्ने आशंका जनाउँदै हाललाई कार्यक्रम स्थगित गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘भोलि मिति २३ गते घोषणा गरिएको शान्तिपूर्ण आन्दोलनमा विभिन्न किसिमका अराजक तत्वहरूले आन्दोलनलाई विथोल्ने र अप्रिय घटना निम्त्याउने देखिएको हुनाले उक्त आन्दोलन हालका लागि स्थगित गरिएको छ। परिस्थितिको मूल्याङ्कनपछि आगामी शान्तिपूर्ण आन्दोलनको नयाँ मिति जानकारी गराइनेछ।’
संगठनले आन्दोलन स्थगनका कारण सहभागीहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना पनि गरेको छ।
विज्ञप्तिमा अध्यक्ष प्रज्वल लामा, प्रवक्ता प्रदिप भट्टराई, संयोजक सुरेन्द्र घर्ति र सदस्य सुनिल सिंहको नाम उल्लेख गरिएको छ।
