• Wednesday 21st of October 2026

आयोगको प्रतिवेदन पर्खिनुपर्छ, जाहेरीको आधारमा मुद्दा चलाउनेतिर लाग्न हुँदैनः पूर्व डीआईजी मल्ल


  • धनकुटा खबर
  • .

काठमाडौं, २३ असोज । नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्लले जेन–जी आन्दोलनको क्रममा दमन गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई पक्राउ गर्नका लागि गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन पर्खिनुपर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आयोगभन्दा बाहिर गएर कारबाही गर्न खोजिए अर्को भुङ्ग्रोमा परिने खतरा रहेको बताएका हुन् । उनले प्रहरीमा जाहेरी परेकै आधारमा ओली, लेखकलगायतलाई पक्राउ गर्न नसकिने बताए ।

‘यसैका लागि आयोग गठन भएको हो । आयोगदेखि बाहिर गएर कारबाहीका कुनै ठाउँहरु खोज्न हुँदैन । हामीहरुले आयोगको प्रतिवेदन पर्खिनै पर्छ । आयोगभन्दा बाहिर जान खोजे अर्को भुङ्ग्रोमा हामीहरु फस्छौं । प्रहरीमा गएर जाहेरी दिएर मुद्दा चलाउनेतिर नलागौं । आयोगको प्रतिवेदन पर्खियौं, आयोगको सिफारिसअनुसार अगाडि बढ्यो भने मात्रै टुङ्गोमा पुग्न सकिन्छ,’– उनले भने ।

साथै, उनले जेन–जीहरुको आन्दोलन फेरि पनि हुनसक्ने खतरा उत्तिकै रहेको बताए । जेन–जीहरु अहिलेको संविधान र व्यवस्थाभन्दा बाहिर जान चाहेको बताउँदै उनले अब आन्दोलन भएको खण्डमा संविधान बढारिने खतरा रहेको बताए । यसका लागि राजनीतिक दलहरु सच्चिनुपर्ने र राजनीतिक दलहरुले जो व्यक्तिका विरुद्धमा आन्दोलन भएका छ, तिनलाई बाहिर राखेर अहिलेको सरकारसँग अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।

‘हामीहरु पुरानै संविधान र पुरानै व्यवस्थामा छौं । तर, युथको डिमाण्ड के छ भनेपछि अहिलेको संविधानभन्दा बाहिर जान खोजिराख्नुभएको छ । अहिलेको जुन सरकार बनेको छ, उनीहरुलाई त्यो कुराले अलाउ गर्दैन फेरि । भोलिको दिनमा आन्दोलन भयो भने संविधान पनि बढारेर लिएर जाने हो कि ?’ प्रश्न गर्दै उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖