काठमाडौ । पछिल्लो समय जेनेरेसन–जेड (Gen-Z) युवाहरूको आन्दोलन रक्षात्मक अवस्थामा पुगेका छन् भने नेकपा एमाले आक्रामक रूपमा सामाजिक सञ्जाल र सडक दुबै माध्यमबाट दबाब सिर्जना गरिरहेको छ। एमालेले “गोली चलाउने होइन, भवन जलाउने दोषीहरूलाई समात” भन्ने न्यारेटिभ (narrative) प्रभावकारी रूपमा स्थापित गरेको छ, जसलाई अहिले धेरै आम नागरिकहरूले पनि स्वीकार गरेको देखिन्छ।
सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको उक्त सन्देशपछि ७५ जनाको मृत्युभन्दा पनि जलेका घर र नष्ट भएका संरचनाको चिन्ता बढी भइरहेको जनभावना देखिएको छ। यसैबीच, एमाले र यससँग नजिक विद्यार्थी संगठनहरूले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुधन गुरुङलाई तत्काल पक्राउ गर्न माग गर्दै देशव्यापी अभियान थालेका छन्।
बुधबार साँझ माइतीघर मण्डलामा नयाँ दृश्य देखियो — युवाहरूको समूहले एमाले अध्यक्ष केपी ओली र नेता महेश बस्नेतको तस्वीर रहेको पुरानो ब्यानर हटाएर त्यसको सट्टा बालेन शाह र सुधन गुरुङको तस्वीरसहितको ब्यानर टाँगिदिए।
नयाँ ब्यानरमा ठूलो अक्षरमा लेखिएको थियो — “हिंस्रक, हत्यारा र विदेशी दलाल — बालेन र सुदनलाई गिरफ्तार गर।”
ब्यानर टाँग्ने क्रममा केही युवाहरूबीच वादविवादसमेत भएको थियो।
यसअघि जेन–जी समूहले नै विभिन्न नेताहरू — शेरबहादुर देउवा, पुष्पकमल दाहाल, केपी ओली, माधव नेपाललगायतका फोटोसहित “भ्रष्टाचारी हुँ” भनेर ब्यानर टाँगेका थिए। तर अब त्यो न्यारेटिभ उल्टिएर बालेन र सुदनमाथि केन्द्रित भएको देखिन्छ।
अखिल (एमाले निकट विद्यार्थी संगठन) ले बालेन र गुरुङमाथि हिंसा भड्काउने, सम्पदा जलाउने र प्रहरीमाथि आक्रमणको योजनामा संलग्न भएको आरोप लगाउँदै विशेष अदालतमा जाहेरी दिइसकेको छ। उनीहरूले यो मुद्दा कुनै प्रतिशोध नभई “अराजकता र हत्या हिंसा फैलाउनेहरूको कानुनी जवाफ” भएको दाबी गरेका छन्।
त्यस्तै, एमालेका केन्द्रीय नेताहरूले गृहमन्त्री रवि अर्यालमाथि पनि राजनीतिक रूपमा आन्दोलनको घुसपैठ मिलाउने र अपराधीहरूलाई जोगाउने भूमिका खेलेको आरोप लगाउँदै राजीनामा माग गरेका छन्। पार्टीका नेता महेश बर्तौलाले “राज्यविरुद्धको अपराधमा संलग्न भएकाले गृहमन्त्रीलाई तत्काल गिरफ्तार गरिनुपर्छ” भन्दै वक्तव्यसमेत जारी गरेका छन्।
राजनीतिक विश्लेषकहरूको भनाइमा, अहिले Gen-Z आन्दोलनको मूल सन्देशभन्दा एमालेले तयार पारेको “हिंसा र विध्वंसको प्रतिरोध” भन्ने न्यारेटिभ बढी बलियो बनेको छ। यो परिस्थितिले बालेन–सुदन र Gen-Z नेतृत्वलाई सार्वजनिक सहानुभूति भन्दा आलोचनाको केन्द्रमा पुर्याएको विश्लेषण गरिएको छ।
यसबीच, प्रहरी स्रोतका अनुसार बालेन र गुरुङमाथि दायर जाहेरी अनुसन्धानमा प्रवेश गरिसकेको छ भने गृहमन्त्रीको भूमिका समेत अध्ययनको दायरामा ल्याइएको छ।
सामाजिक सञ्जालमा ‘#ArrestBalendra’ र ‘#JusticeFor75’ ट्रेन्ड भइरहेका छन् — जसले स्पष्ट देखाएको छ, न्यारेटिभ निर्माणको लडाइँमा अहिले एमालेले अग्रता लिएको छ।
