सरकारले जेन–जी आन्दोलनको प्रतिनिधित्व हुने गरी चार नयाँ मन्त्री थप्ने तयारी गरेपछि आन्दोलनका अगुवामध्ये एक मिराज ढुंगानाले तीव्र असन्तुष्टि जनाएका छन्। उनले मन्त्री बन्ने भनिएका व्यक्तिहरू जेन–जी समुदायका प्रतिनिधि नभएको भन्दै सरकारको निर्णय प्रक्रियामाथि प्रश्न उठाएका छन्।
ढुंगानाले सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन्, “यीमध्ये को जेन–जी हुन्? र कुन जेन–जीले सिफारिस गरेको हो?” उनका अनुसार सरकारले आन्दोलनको नाममा मनपरी व्यक्ति छनोट गरी आन्दोलनको मर्म र भावनालाई कमजोर पार्ने प्रयास गरेको छ।
सरकारले रामजी राम, गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र टासी ल्हाजोमलाई जेन–जीको प्रतिनिधिको रूपमा मन्त्रिपरिषद्मा समावेश गर्ने तयारी गरेको छ। रौतहटका रामजी रामलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, गणपतिलाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय र टासी ल्हाजोमलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको स्रोतले जनाएको छ।
तर, ढुंगानालगायत अन्य जेन–जी अभियन्ताहरूले यो सूचीलाई अस्वीकार गरेका छन्। उनीहरूको भनाइमा, उक्त नामहरू जेन–जी आन्दोलनका प्रत्यक्ष सहभागी होइनन् र सरकारले परामर्शविना सिफारिस गरेको निर्णय स्वीकार्य छैन। केही युवाहरूले सामाजिक सञ्जालमा लेखेका छन्, “हामी प्रतिनिधित्व खोजिरहेका थियौं, सरकारले प्रतिनिधि थोपरेको छ।”
प्रधानमन्त्री सुशीला कार्कीले भने जेन–जी आन्दोलनका अन्य युवाहरूलाई पनि सचिवालय तहमा समेट्ने तयारी भइरहेको बताएकी छन्। तर आन्दोलनका अगुवाहरूले भने वास्तविक प्रतिनिधिहरूलाई निर्णय प्रक्रियामा सहभागी नगराएसम्म यो समावेशीता केवल देखावटी रहने चेतावनी दिएका छन्।
