सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले औपचारिक रूपमा मुद्दा दर्ता गरेको छ। सरकारी वकिल कार्यालयका प्रमुख रामहरि काफ्लेले महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र तीन वर्षभन्दा बढी कैद सजाय मागदाबी गरिएको जानकारी दिएका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार महरालाई पक्राउ गरी अदालतमा पेश गरेपछि सोमबार सरकारी वकिलले उनलाई प्रतिवादी बनाएर अभियोग दायर गरेको हो। मंगलबारदेखि थुनछेक बहस सुरु हुने छ, जसमा अदालतले उनलाई धरौटीमा रिहा गर्ने वा थुनामा राख्ने भन्ने निर्णय गर्नेछ।
महरामाथि २०७९ पुस १० गते फ्लाइ दुबईको एफजेट ०५८७ फ्लाइटमार्फत काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले ल्याएका दुई सुटकेसमा भेप (विद्युतीय चुरोट) भित्र लुकाइएको सुन भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ। उक्त सुनको मूल्य करिब ८ करोड ५५ लाख रुपैयाँ बराबर रहेको बताइएको छ।
सीआईबीको अनुसन्धानमा महराको नाम यसअघि दायर मुद्दाको पूरक अभियोजनमा समावेश गरिएको हो। यसअघि नै भन्सार नासु रेवन्त खड्का, चिनियाँ नागरिक दावा छिरिङ, उनका चालक लोकेन्द्र पौडेल, महराका छोरा राहुल महरा र नीमा गुरुङलगायतलाई मतियारका रूपमा मुद्दा दायर गरिएको थियो।
महरामाथि सुन तस्करी सञ्जालसँग प्रत्यक्ष सम्पर्क र प्रभाव प्रयोग गरेको प्रमाण फेला परेको सीआईबीले जनाएको छ। केही दिनअघि मात्रै महरासँग विस्तृत बयान लिएपछि उनलाई पुनः पक्राउ गरिएको हो।
सरकारी वकिलले दायर गरेको यो मुद्दाले नेपालको राजनीतिक र कानुनी वृत्तमा ठूलो हलचल ल्याएको छ। शक्तिशाली राजनीतिक व्यक्तित्वमाथि सुन तस्करीजस्तो गम्भीर आरोपमा मुद्दा दर्ता हुनु, उच्च तहसम्म फैलिएको सुन तस्करी सञ्जालको नयाँ अध्यायको रूपमा हेरिएको छ।
