गत २४ भदौमा भएको जेनजी आन्दोलनपछिको २० दिनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक रूपमा देखा परेका छन्। मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुन पुगेका देउवा लामो मौनता र उपचारपछि पुनः सार्वजनिक जीवनमा फर्किएका हुन्।
बुढानीलकण्ठस्थित आन्दोलनकारीहरूको आक्रमणमा परेका देउवालाई नेपाली सेनाले पत्नी डा. आरजु राणा देउवासहित उद्धार गरेको थियो। सुरक्षाको कारण जनाउँदै तत्कालीन समयमा सेनाले हेलिकप्टरमार्फत उद्धार गर्न खोजे पनि नसक्दा अन्ततः स्थलमार्गबाट अस्पताल पुर्याइएको थियो।
टाउकोमा गम्भीर चोट लागेका देउवालाई १२ टाँका लगाइएको थियो। उपचारका क्रममा उनी सार्वजनिक रूपमा देखिएका थिएनन्। कांग्रेस नेता मीन विश्वकर्माका अनुसार देउवाको स्वास्थ्य अहिले स्थिर छ र चिकित्सकको सल्लाहअनुसार उनले पार्टीगत गतिविधि पुनः सुरु गरेका हुन्।
देउवाको सार्वजनिक उपस्थितिपछि पार्टी भित्र सकारात्मक माहोल देखिएको छ। जेनजी आन्दोलनका कारण उत्पन्न राजनीतिक तनावबीच देउवाको पुनरागमनले कांग्रेसको आन्तरिक बैठकलाई नयाँ ऊर्जा मिलेको नेताहरूले बताएका छन्।
