• Tuesday 20th of October 2026

आफ्नो घरमा पैसा भेटिएको भनिएको भिडिओ ‘फेक’ रहेको देउवाको दाबी


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो घरमा पैसा भेटिएको भनिएको भिडिओ ‘फेक’ रहेको दाबी गरेका छन्। जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक रूपमा बोलेका देउवाले सो भिडिओ एआई प्रविधि प्रयोग गरेर विदेशबाट तयार गरी आफूलाई फसाउने षड्यन्त्र गरिएको बताएका छन्।

मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा १८ मिनेट लामो सम्बोधन गर्दै देउवाले भने, “यो फेक भिडिओ हो, बाहिरबाट ल्याइएको भिडिओ हो। मेरो घरमा २० लाख रे, ५० लाख रे भन्ने कुरा पूर्ण रूपमा गलत हो। पुराना भिडिओहरू काटछाँट गरेर एआईबाट तयार पारिएको हो।”

देउवाले सो प्रकरणको छानबिन माग गर्दै भने, “विदेशी भिडिओ काटेर मेरो घरमा हालिएको छ। यो फेक भिडिओ बनाएर मेरो चरित्र हत्या गर्ने षड्यन्त्र हो। यसको तत्काल छानबिन हुनुपर्छ।” उनले पार्टी कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरे।

२४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा नेपाली रुपैयाँ र अमेरिकी डलरका नोट भेटिएको दाबी गरिएको थियो। ती भिडिओहरू सामाजिक सञ्जालमा भाइरल बनेपछि देउवाको सचिवालयले भ्रामक भन्दै खण्डन गरेको थियो।

तर तथ्यजाँच प्लेटफर्म टेकपानाले सो भिडिओबारे गरेको अनुसन्धानमा फरक नतिजा आएको छ। टेकपानाको रिपोर्टअनुसार देउवा निवासमा खिचिएको भन्दै भाइरल भएका छवटा भिडिओमध्ये चारवटा वास्तविक रहेको पुष्टि भएको छ, जबकि बाँकी दुईवटा म्यानेपुलेटेड (संपादित) भएको निष्कर्षमा पुगेको छ।

देउवाले भने एआई प्रविधिको प्रयोग गरेर पुराना विदेशी भिडिओलाई आफ्नो घरको दृश्यजस्तो बनाइएको आरोप दोहोर्‍याएका छन्। उनले भने, “यो प्रविधिको दुरुपयोग हो, यो कुरा अब स्पष्ट हुनुपर्छ।”
यस घटनाले जेनजी आन्दोलनपछि पुनः राजनीतिक विवादमा नयाँ मोड ल्याएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖