• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

गजा पुर्‍याइएको सुरूका महिनामै विपिन मारिएका थिए:आइडिएफ


  • धनकुटा खबर
  • .

इसराइली सेनाले विपिन जोशीको मृत्यु उनलाई बन्धक बनाएर गजा पुर्‍याइएको सुरूका महिनामै भएको बताएको छ।

विपिनको शव सोमबार अबेर राति हमासले इसराइललाई हस्तान्तरण गरेको थियो।

शव परीक्षणपछि आइडिएफले एक्स (पहिले ट्वीटर)मा वक्तव्य सार्वजनिक गर्दै विपिनको मृत्यु बन्धक बनाएर गजा पुर्‍याइएको पहिलो महिनामै भएको जनाएको हो।

आइडिएफले विपिनको हत्या भएको पनि बताएको छ।

‘युद्ध सुरू भएको सुरूका महिनामै उनको हत्या भएको थियो,’ आइडिएफले एक्समा लेखेको छ।

अर्का बन्धक गाय इलुजको भने समयमै उपचार नपाएर मृत्यु भएको खुलेको आइडिएफले जनाएको छ।

फोरेन्सिक मेडिसिन केन्द्रले मृत्युको परिस्थितिको जाँच पूरा गरेपछि अन्तिम निष्कर्ष निकालिने आइडिएफले जनाएको छ।

इसराइलमा २०८० असोज २० मा हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। विपिनलाई भने हमासले बन्धक बनाएर गजा पुर्‍याएको थियो।

विपिनको रिहाइको पहलका लागि आमा पदमा र बहिनी पुष्पा जोशी असोज ९ मा अमेरिका गएका थिए। उनीहरू इसराइल नै पुगेर विपिनको रिहाइका लागि पहल गर्न त्यहाँको सरकारलाई आग्रह गरेर फर्केपछि अमेरिका गएका थिए।

असोज पहिलो साता हमासले नियन्त्रणमा रहेका विपिन जोशीसहित ४८ जना बन्धकको बिदाइ तस्बिरु भन्दै सार्वजनिक गरेको थियो।

हमाससँग बाँकी रहेका ४८ बन्धकमध्ये जिवित रहेका २० बन्धक रिहा भइसकेका छन्। विपिनको जीवित नरहेको कुरा सोमबार मात्रै थाहा भएको थियो। आइडिएफले दूतावासलाई पनि उनी जीवित नरहेको भनेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖