नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाको आजको सम्बोधन सभापतिको रूपमा अन्तिमजस्तै भएको टिप्पणी गरेका छन्।
मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष महाधिवेशनका हस्ताक्षर बुझाउने तयारीमा रहेका थापाले देउवाको सम्बोधनको सम्मानस्वरूप आजका अन्य गतिविधि रोकिएको जानकारी दिएका हुन्।
महामन्त्री थापाले भने, “सभापति देउवाले कार्यवाहक सभापति तोकेर बाँकी अधिकार केन्द्रीय समितिलाई सुम्पनुभएको छ। उहाँको आजको सम्बोधन सभापतिको हिसाबले अन्तिमजस्तै रह्यो, त्यसको सम्मानका रूपमा आजका अन्य कार्यक्रम स्थगित गरेका हौं।”
देउवाले आजको केन्द्रीय समिति बैठकमा पार्टीको १५औं महाधिवेशन विधानअनुसार मंसिर मसान्तभित्रै गर्ने प्रतिबद्धता जनाएका थिए। उनले पार्टीभित्र एकताको आह्वान गर्दै कार्यवाहक सभापतिका रूपमा पूर्णबहादुर खड्कालाई जिम्मेवारी तोकेका छन्।
गगन थापाका अनुसार, विशेष महाधिवेशन माग गर्ने हस्ताक्षर भोलि (बुधबार) अपराह्न ३ बजे कार्यवाहक सभापति खड्कालाई बुझाइनेछ। हालसम्म ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष कारण देखाउँदै महाधिवेशनको मागमा समर्थन जनाइसकेका छन्।
कांग्रेसभित्र नेतृत्व संक्रमणको संकेतका रूपमा हेरिएको आजको बैठकपछि देउवाको सम्बोधनलाई धेरैले “राजनीतिक बिदाको संकेत” को रूपमा व्याख्या गरेका छन्।
