• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

इजरायल सरकारद्वारा आफ्ना नागरिकका परिवार सरह विपिनका परिवारलाई अधिकार र सहयोग प्रदान गर्ने घोषणा


  • धनकुटा खबर
  • .

हमासद्वारा अपहरणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीका परिवारलाई इजरायल सरकारले आफ्ना नागरिकका परिवार सरह अधिकार र सहयोग प्रदान गर्ने घोषणा गरेको छ।

इजरायलको परराष्ट्र मन्त्रालयका निर्देशक जनरल एडेन बार–टालले नेपाली परराष्ट्र सचिव अमृत बहादुर राईसँग टेलिफोन संवाद गर्दै विपिन जोशीको निधनप्रति गहिरो शोक व्यक्त गर्दै उक्त घोषणा गरेका हुन्। उनले भने, “इजरायल सरकारले विपिन जोशीका परिवारलाई हमासद्वारा मारिएका इजरायली नागरिकका परिवारजस्तै अधिकार र हेरचाह प्रदान गर्नेछ।”

बार–टालले जोशीको शव इजरायलमा फर्किएको र नेपाल पठाउने तयारी भइरहेको जानकारी दिँदै उनको सम्झनामा दुईवटा औपचारिक श्रद्धाञ्जली कार्यक्रम आयोजना हुने बताए। एक कार्यक्रम तेल अविभस्थित विमानस्थलमा शव प्रस्थानअघि हुनेछ भने अर्को नेपालमा आयोजना गरिनेछ, जसमा इजरायलका राजदूत समेत सहभागी हुनेछन्।

उनले विपिन जोशीको हत्या “क्रूर र अमानवीय” भएको भन्दै नेपाली जनताप्रति संवेदना प्रकट गरे। उनले भने, “विपिन जोशीले इजरायलको भूमिमा कृषिशिक्षा अध्ययन गर्न आएका एक असाधारण युवा थिए। उनको हत्या हाम्रो साझा पीडा हो।”

नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईले इजरायल सरकारले विपिन जोशीको मुद्दामा देखाएको मानवीय संवेदना र सहकार्यप्रति आभार प्रकट गर्दै भने, “यो कठिन समयमा इजरायलले देखाएको सहयोग र आदर नेपालले गहिरो कृतज्ञताका साथ ग्रहण गरेको छ।”

सन् २०२३ अक्टोबर ७ मा इजरायलको दक्षिणी क्षेत्र किबुज एलुमिममा हमासको आक्रमणका क्रममा विपिन जोशी अपहरणमा परेका थिए। ७३८ दिनपछि उनको शव फिर्ता भएपछि नेपाल र इजरायल दुवै देशमा शोकको लहर फैलिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖