नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग एकता वार्ता गरिरहेका एकीकृत समाजवादी पार्टीलाई एमालेमै फर्किन आग्रह गरेका छन्।
बुधबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले राष्ट्रिय एकता र वाम शक्तिको पुनर्मिलन आवश्यक भएको भन्दै समाजवादी नेताहरूप्रति खुला प्रस्ताव राखे।
उनले भने,
“कसैको चौतारीमा छिर्न नजानुहोस्। यो मजबुत घर हो — यहाँ आउनुहोस्। लाखौं कार्यकर्ता भएको पार्टी छ, यहीँ बसौं, अरू ठाउँमा बास खोज्दै नहिँड्नुहोस्।”
ओलीको यो भनाइ माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पछिल्ला दिनमा संयुक्त वाम मोर्चा र सम्भावित पार्टी एकताका तयारीबीच आएको हो।
उनले माओवादी केन्द्रतर्फको झुकावलाई लक्षित गर्दै भने,
“माओवादीसँग होइन, राष्ट्रिय हितका लागि वाम शक्तिहरू एकताबद्ध हुनुपर्छ। एमाले नै त्यसको केन्द्र हो।”
ओलीले देशमा बढ्दै गएको राजनीतिक अनिश्चितता, अस्थिरता र असन्तोष अन्त्य गर्न वामपन्थी दलबीच सहकार्य अपरिहार्य भएको बताए।
उनका अनुसार एमाले ‘सबै वामपन्थीहरूको साझा घर’ हो र विगतका वैमनस्यता र विभाजनले मात्र वाम शक्तिलाई कमजोर बनाएको छ।
बैठकमा उपस्थित नेताहरूले पनि ओलीको प्रस्तावलाई दीर्घकालीन वाम पुनर्गठनको संकेतका रूपमा व्याख्या गरेका छन्।
