पूर्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा पूर्व सांसद सुमना श्रेष्ठले नेपालमा ‘विविधतामा एकता’ भन्ने नारा केवल भाषण र पुस्तकमा सीमित भएको तर व्यवहारमा अनुहार, छाला र पृष्ठभूमि हेरेर मानिसको राष्ट्रियता मापन गर्ने प्रवृत्ति बढिरहेको आरोप लगाएकी छन्।
बुधबार सामाजिक सञ्जालमार्फत उनले यस्तो प्रवृत्तिले देशको सामाजिक सद्भावमा गम्भीर असर पारिरहेको बताउँदै विदेशमा पढेर फर्किएका नेपालीहरूलाई अपमान गर्ने परिपाटी रोकिनुपर्ने चेतावनी दिइन्। उनले लेखेकी छन्, “खाँटी राष्ट्रवादी राजा महेन्द्रको नाम बोकेको महेन्द्रमालामा पढेको — ‘विविधतामा एकता’, राम्रो सुनिनलाई मात्रै रहेछ। व्यवहारमा त आँखा चिम्सो देख्यो तिब्बती शरणार्थी, छाला कालो देख्यो बिहारी, अनि नागरिकता नक्कली भन्छन्।”
श्रेष्ठले सुदन गुरुङ र टासी शेर्पाजस्ता नागरिकता विवादमा परेका व्यक्तिहरूको उदाहरण दिँदै प्रश्न गरिन् — “असली नेपाली को हो ? विदेशी देखिने नेपालीलाई आफ्नै देशमा नागरिकताको प्रमाण दिनुपर्ने अवस्था किन आउँछ ?” उनले विदेशमा पढेका नेपालीहरूलाई विदेशी एजेन्ट भनेर लाञ्छना लगाउने प्रवृत्तिप्रति पनि तीखो प्रतिक्रिया दिइन्।
“विदेशी विश्वविद्यालयमा पढ्ने बित्तिकै एजेन्ट हुने रहेछ भने राजा विरेन्द्र पनि इटन पढेका, उनी पनि बेलायती एजेन्ट होलान् त ?” भन्दै उनले व्यङ्ग्य गरिन्।
श्रेष्ठले हरेक नेपाली परिवारका सदस्य विदेशमा रहेको उल्लेख गर्दै लेखेकी छन्, “अमेरिकामा गएकालाई अमेरिकी एजेन्ट, खाडीमा काम गर्नेलाई इस्लामिक अतिवादी, भारतमा पढ्नेलाई रअको एजेन्ट भन्न थाल्यौं भने बाँकी को रहन्छ ?”
भूपि शेरचनको कवितालाई उद्धृत गर्दै उनले नेपाल ‘हल्लै हल्लाको देश’ बन्दै गएको बताइन्। उनले नागरिकहरूलाई अपुष्ट जानकारी र हल्ला पत्याएर सामाजिक विभाजन नफैलाउन आग्रह गर्दै भनिन्, “हामीले गर्व गर्न लायक सामाजिक सद्भाव बचाऔं, र विभाजन होइन, एकताको अभ्यास गरौं।”
