• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

३० जना क्रिश्चियन पक्राउ


  • धनकुटा खबर
  • .

चीनमा हालै ३० जना क्रिश्चियन पक्राउ परेका छन्। अधिकारकर्मीहरूले यसलाई पछिल्ला दशकहरूमा भएको सबैभन्दा ठूलो धार्मिक दमन को सुरुवातका रूपमा व्याख्या गरेका छन्। पक्राउ परेकामध्ये अधिकांश ‘जायन चर्च’ नामक भूमिगत क्रिश्चियन नेटवर्कसँग सम्बन्धित छन्, जसका संस्थापक प्रसिद्ध पादरी जिन मिंगरी हुन्।

पछिल्लो शुक्रबार पादरी मिंगरीकी छोरी ग्रेस जिन ड्रेक्सेलले सामाजिक सञ्जालमार्फत पिता सम्पर्कविहीन भएको जानकारी दिएकी थिइन्। उनले बीबीसीसँग भनिन्, “पहिले पिताले अर्को पादरी पक्राउ परेको सन्देश पठाउनुभएको थियो, केही घण्टामै आमाले भन्नुभयो— बाबुसँग सम्पर्क हुन सकेन।” त्यसपछि परिवारले बुझ्यो— पादरी मिंगरी पनि पक्राउ परिसकेका छन्।

चिनियाँ सुरक्षाकर्मीहरूले मिंगरीलाई दक्षिणी सहर बेइहाईबाट नियन्त्रणमा लिएर बेइहाई नम्बर २ जेलमा राखेका छन्। सार्वजनिक सुरक्षा निकायले जारी गरेको आधिकारिक नोटिसमा उनलाई “सूचना सञ्जालको अवैध प्रयोग” सम्बन्धी आरोप लगाइएको उल्लेख छ। अन्य पादरी र चर्चका सदस्यहरू पनि देशका कम्तीमा १० सहरबाट पक्राउ परेका छन्, जसमा बेइजिङ र शाङ्घाई पनि सामेल छन्।

अधिकारकर्मीहरूका अनुसार चीनले पछिल्ला महिनाहरूमा भूमिगत चर्चहरू (हाउस चर्च) माथि निगरानी कडा बनाएको छ। सरकारले अनलाइन धार्मिक प्रवचनका लागि अनुमति प्रणाली लागू गरेको छ र धेरै क्रिश्चियन एपहरू प्रतिबन्धित छन्। यसैबीच, चर्च भवन भत्काउने, क्रसहरू हटाउने र धार्मिक सामग्री नियन्त्रण गर्ने अभियान पनि तीव्र बनेको छ।

क्रिश्चियन अधिकारसमूह ल्यूक एलायन्स का संस्थापक कोरी ज्याक्सनले भने, “यो व्यापक रूपमा समन्वयित गिरफ्तारी हो, र हामी अनुमान गर्छौं— यो सुरु मात्र हो।” अर्का एक समूह ओपन डोर्स ले भने, “जायन चर्च चीनमा सबैभन्दा परिचित भूमिगत चर्च थियो, त्यसैले सरकारले नियन्त्रण बाहिरको धार्मिक समुदायलाई चेतावनी दिन खोजेको हो।”

पादरी मिंगरीको चर्च २००७ मा बीजिङमा स्थापना भएको थियो। सुरुमा घरमा सानो समूहबाट सुरु भएको जायन चर्च पछि देशभर ४० भन्दा बढी सहरमा फैलिएको र करिब १० हजार अनुयायी भएको अनुमान छ।

चिनियाँ अधिकारीहरूले भने देशमा धार्मिक स्वतन्त्रता सुनिश्चित भएको दाबी गर्दै आएका छन्। तर, विज्ञहरूका अनुसार राज्य–नियन्त्रित चर्च बाहेक स्वतन्त्र धार्मिक गतिविधि चीनमा अझै जोखिमपूर्ण बनेको छ।

अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार, पछिल्लो गिरफ्तारीले चीनमा क्रिश्चियन समुदायमाथि नयाँ चरणको दमन र नियन्त्रणको लहर सुरु भएको संकेत देखाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖