नेपाली सेनाले भदौ २३ र २४ गतेका जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये २२ जना मात्रै प्रदर्शनकारी रहेको तथ्यांक सार्वजनिक गरेको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सेनाले २३ गतेको आन्दोलनका क्रममा २२ प्रदर्शनकारीको मृत्यु भएको बताएको हो।
सेनाको अनुसार बाँकी मृतकमध्ये ३ जना प्रहरी, १० जना कैदी र अन्य ४१ जना भदौ २४ गतेको आन्दोलनका क्रममा मृत्यु भएका हुन्। साथै, सेनाले टिचिङ अस्पतालमा रहेका ११ वटा शवको पहिचान अझै हुन नसकेको जानकारी पनि दिएको छ।
आन्दोलनका क्रममा ६८८ सरकारी कार्यालय, २५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलका कार्यालय र ३०७ प्रहरी कार्यालयमा तोडफोड तथा आगजनी भएको सेनाको विवरणमा उल्लेख छ। सेनाका अनुसार यो क्षति देशको प्रशासनिक, कानूनी र सुरक्षा संरचनामाथिको व्यापक आक्रमणको संकेत हो।
यससँगै, सेनाले आन्दोलनका बेला ९७८ थान हातहतियार लुटिएको बताउँदै तीमध्ये ५८६ वटा फिर्ता गराइएको जानकारी दिएको छ। यस्तै, १५ हजार ५८८ जना कैदीबन्दी फरार भएकोमा हालसम्म ८ हजार ७९९ जनालाई पुनः नियन्त्रणमा लिइएको सेनाले जनाएको छ।
सेनाका प्रवक्ताले आन्दोलनका घटनाहरूले राज्य संयन्त्र र सुरक्षातन्त्रमाथि गम्भीर असर पारेको भन्दै बाँकी फरार कैदीहरूको खोजी र शान्ति–सुरक्षा पुनःस्थापनाका प्रयास जारी रहेको बताए। उनले थपे, “सुरक्षाको पुनर्संरचना र जनविश्वास पुनःस्थापनाका लागि सेना, प्रहरी र प्रशासन समन्वयमा कार्यरत छन्।”
