नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा बल प्रयोग गरे ठूलो मानवीय क्षति हुन सक्ने देखिएपछि पछि हटेको स्पष्ट गरेको छ।
सेनाको युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाका अनुसार आन्दोलनकारीलाई बारम्बार रोक्ने प्रयास गरिए पनि जबर्जस्ती प्रवेश गरेपछि सेना दुई विकल्पबीच थियो – ठूलो क्षति हुने बल प्रयोग गर्ने वा पछि हट्ने। ‘हामीले तत्कालीन परिस्थितिको विश्लेषण गरेरै निर्णय गरेका हौँ,’ थापाले भने।
सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्न खोज्ने करिब २ हजार प्रदर्शनकारीलाई रोक्दै विमानस्थल सुरक्षित राखेको दाबी गरेको छ। पेट्रोलसहित आक्रमणको तयारीमा रहेका केही व्यक्तिहरू पक्राउ परेका थिए।
यस्तै, २४ गते राति पशुपतिनाथ मन्दिरमा भेला भएका प्रदर्शनकारीलाई पनि हटाएर मन्दिर सुरक्षित राखिएको सेनाको भनाइ छ। सिंहदरबारमा भने आगलागी भए पनि सेनाले राष्ट्रिय सुरक्षा परिषद्, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयको एलएमबीआईएससहितको डाटा सेन्टर जोगाउन सफल भएको जनाएको छ।
जेनजी आन्दोलनका क्रममा सेनाले राजधानीमा ६ हजार र बाहिरका जिल्लामा १८ हजारभन्दा बढी फौज परिचालन गरेको थियो। सेनाले जिम्मा लिएको ६ देखि ८ घण्टापछि अवस्था सामान्य बन्दै गएको जनाएको छ।
आन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट लुटिएका ९७८ नाल हतियारमध्ये ५८६ नाल फिर्ता गरिएको सेनाको दाबी छ। तीमध्ये केही आन्दोलनकारीले आफैं बुझाएका थिए।
भदौ २३ र २४ गते भएको आन्दोलनमा १ हजार ५८० कार्यालय र घरहरूमा क्षति पुगेको सेनाले जनाएको छ। जसमा ६८८ सरकारी कार्यालय, ३०७ प्रहरी कार्यालय, २५९ निजी घर, १२८ व्यापारिक प्रतिष्ठान र १९८ राजनीतिक दलका कार्यालयहरू छन्।
सेनाले आन्दोलनका क्रममा १९० जना भीभीआईपी र परिवारलाई सुरक्षा दिएको बताएको छ। तीमध्ये ६१ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो।
सेनाको विवरण अनुसार आन्दोलनमा मृत्यु भएका ७६ जनामध्ये २२ जना मात्र जेनजी प्रदर्शनकारी हुन्। बाँकी ३ प्रहरी, १० कैदीबन्दी र ४१ अन्य नागरिक रहेको सेनाले जनाएको छ।
युद्धकार्य विभागले जेनजी आन्दोलन भड्काउने भनिएको “टिबेटन ओरिजिनल ब्लड (TOB)” समूहबारे पनि अध्ययन भइरहेको जानकारी दिएको छ।
सेनाका अधिकारीहरूले घटनाको तीव्रता अनुमानभन्दा बढी भएको भन्दै तत्कालीन अवस्थाअनुसार सबै निर्णय उचित विश्लेषणका आधारमा गरिएको बताएका छन्।
