जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न ‘TOB कमाण्डर’ तेन्जिन दावा लामाको नागरिकता नक्कली ठहरिएको खुलेको छ। काठमाडौं महानगरपालिकाको वडा नं. ६ बाट सिफारिस भएको भनिएको उनको नागरिकता प्रमाणपत्र फर्जी पाइएको प्रहरीले पुष्टि गरेको छ।
प्रहरी स्रोतका अनुसार तेन्जिनले २०६३ सालमा नक्कली जन्मदर्ता प्रयोग गरी नागरिकता लिएका थिए, जसको सिफारिस नक्कली भएको रिपोर्ट प्राप्त भएको हो। सो सिफारिसको रेकर्ड रहेको ढड्डा भदौ २४ को आगलागीमा नष्ट भए पनि काठमाडौं महानगरपालिकाले “उक्त सिफारिस आफूहरूले नगरेको” आधिकारिक पत्रमार्फत जनाएको छ।
तेन्जिनले सोही फर्जी नागरिकताको आधारमा राष्ट्रिय परिचयपत्र र राहदानी समेत बनाएका थिए र हालै ती कागजातका माध्यमबाट अष्ट्रेलिया जान तयारीमा रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनले अनुसन्धानका क्रममा भनेका छन् —
“मलाई सबैले तिब्बती तिब्बती भनेर उडाएपछि म नेपाली नै हो भनेर प्रमाणित गर्न टिकटक बनाएको थिएँ, तर त्यो नै मेरो आत्मघाती गल्ती बन्यो।”
प्रहरीले उनलाई पक्राउ गरी फर्जी नागरिकता, राहदानी र दस्तावेज दुरुपयोगसम्बन्धी मुद्दा अन्तर्गत अनुसन्धान सुरु गरेको छ। कानुनी म्यादअनुसार २५ दिनभित्र मुद्दा अदालतमा बुझाइने तयारी भइरहेको छ।
स्रोतका अनुसार, यो घटनाले नेपालमा घुस र जालसाजीमार्फत नागरिकता लिने विदेशी तत्वहरूको सक्रियता पुनः सतहमा ल्याएको छ। यस्ता पात्रहरूमाथि कठोर कारबाही नभए देशको आन्तरिक सुरक्षामाथि गम्भीर चुनौती आउने प्रहरी अधिकारीहरूको भनाइ छ।
एक प्रहरी अधिकृतका शब्दमा —
“यस्ता फर्जी पात्रप्रति सरकारले उदारता देखायो वा अदालतले फेरि पनि मन कमलो बनायो भने, अर्को पटक अदालत नै डढ्न सक्छ भन्ने खतरा अब टार्न सकिँदैन।”
