काठमाडौ । एमाले केन्द्रीय सदस्य र पूर्व शिक्षामन्त्री विद्या भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी नेतृत्व त्याग्न सुझाव दिएको केही दिनमै उनीमाथि ‘फेक फेसबुक एकाउन्ट’ मार्फत् प्रहार भएको छ।
‘सरु खनाल’ नामको कृत्रिम प्रोफाइलबाट विद्यालाई ‘गृहिणी’ भन्दै अपमानजनक टिप्पणी गरिएको थियो, जसको प्रतिवाद भट्टराईले बुद्धिमत्तापूर्ण शैलीमा गरेकी छन्। उनले लेखेकी छन्, “गृहिणी होइन, गृह व्यवस्थापन हो। महिलाको सिप र कलाले नै परिवार सुखी हुन्छ।”
स्रोतका अनुसार, भट्टराईले केन्द्रीय कमिटी बैठकमा ओलीको असफलताले ‘जेन–जी आन्दोलन’ सफल भएको बताउँदै नेतृत्व हस्तान्तरणको सुझाव दिएकी थिइन्। सोही बयानपछि फेक एकाउन्टमार्फत् उनीमाथि व्यक्तिगत आक्रमण सुरु भएको बताइन्छ।
भट्टराईलाई पार्टी नेतृ उषाकिरण तिम्सेनालगायतले सार्वजनिक रूपमा समर्थन गर्दै उनको साहस र इमानदारीको प्रशंसा गरेका छन्।
