काठमाडौं, ३ कार्तिक । नेकपा (माओवादी केन्द्र) की युवा नेतृ गंगा दाहालले आफूले जीवनमा कहिल्यैपनि एक लाख पर्ने ब्याग र घडी नकिनेको दाबी गरेकी छिन् ।
सामाजिक सञ्जाल फेशबुकमार्फत दाहालले आफ्नो बारेमा अनावश्यक प्रहार गरिएको भन्दै यस्तो स्पष्ट पारेकी हुन् ।
उनले भनेकी छिन्,‘कहिले कति लाखको ब्याग भनिदिएको छ, कहिले कति लाखको घडी । एक लाख पर्ने घडी, ब्याग जिन्दगीमा कहिले पनि किनेको छैन । साथीभाइले जन्मदिनको अवसरमा दिएको उपहार थियो, सक्कली थियो कि नक्कली त्यो पनि जलेर खरानी भैसक्यो । अझै पनि त्यही कुरा ल्याएर प्रहार भइराखेको छ ।’
दाहालले आफूले पार्टीका संयोजक पुष्पकमल दाहालको सचिवालयबाट राजीनामा दिएकोसमेत घोषणा गरेकी छिन् । प्रचण्डको सचिवालयबाट राजीनामा दिएको भएपनि पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहने उनको प्रण छ ।
यसबारे उनले थपिन्,‘सचिवालयमा रहँदा पार्टीका नेता, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु।’
