काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २४ गतेको अराजक आन्दोलनका क्रममा नेकपा (एमाले) का केही स्थानीय नेताले नै आफ्नो घरमा आगजनी गर्न खोजेको खुलासा गरेका छन्।
‘म घरमै थिएँ,’ थापाले सोमबार प्रसारित फायरसाइड कार्यक्रममा भने, ‘सभापतिजीसँग कुरा गर्दै थिएँ, सरकार छोड्नुपर्छ भनिरहेको थिएँ। त्यत्तिकैमा मेरो घर जलाउने समूह बाहिर आइपुग्यो।’
थापाको दाबीअनुसार, उक्त समूहमा केपी ओली निकट स्थानीय एमाले नेता समेत थिए, जसले आफ्नो राजनीतिक पहुँच र सत्ताको आवरणमा आन्दोलनको अराजकतामा फाइदा उठाएका थिए।
थापाले थपे, ‘मेरै टोलको, पुरानो राजनीतिक दलको, प्रधानमन्त्रीसँग विशेष पहुँच भएको नेतै आएको थियो मेरो घर जलाउन। सरकारमै रहेर पनि उसले आन्दोलनको आडमा यस्तो काम गर्यो।’
सीसी टिभी फुटेजमा आगजनीमा संलग्नहरू स्पष्ट देखिएको दाबी गर्दै थापाले अर्को पात्रको बारेमा पनि खुलासा गरे —
‘काभ्रेको मान्छे हो, जेन जेड पनि होइन, भर्खर बलात्कारको सजायबाट छुटेको रहेछ।’
उनका अनुसार आगजनीमा पुराना मात्र होइन नयाँ दलका जिम्मेवार नेताहरू समेत सामेल थिए।
थापाले भने, ‘नयाँ दलका साथीहरू पनि आए। मैले पछि तिनीहरूलाई म्यासेज पठाएँ, कस्तो लाग्यो मेरो घर भनेर।’
गगन थापाले आफ्नो परिवार कसरी त्यस रात ज्यान जोगाएर निस्कियो भन्ने कथा पनि अन्तर्वार्तामा खुलाए।
उनका अनुसार २३ र २४ गतेका आन्दोलनहरूलाई एउटै रूपमा नहेरी बुझ्न जरुरी छ।
‘देशमा असन्तुष्टि चरम छ,’ उनले भने, ‘तर अहिले पनि सम्हाल्न सकिन्छ भन्ने विश्वास छ।’
थापाले कांग्रेसको महाधिवेशन मंसिरमा गर्न सकिने बताउँदै, फागुनको निर्वाचनमा नयाँ अनुहारसहितको कांग्रेस लिएर जान तयार रहेको घोषणा गरे।
