केही दिनअघि पूर्वराष्ट्रपति विद्या भण्डारीको घरमा आगजनी गरेको आरोपमा पक्राउ परेका सोनाम थेबे ‘चक्रे मिलन’ भनिने मिलन गुरूङसँग निकट रहेको खुलेको छ।
प्रहरीका अनुसार थेबे आपराधिक पृष्ठभूमि भएका चक्रे मिलनको नजिकको व्यक्ति हुन् र उनी विभिन्न घरमा आगजनी र तोडफोडमा संलग्न भएको सीसीटीभी फुटेजले देखाएको छ। उनी नेकपा एमालेसँग पनि निकट रहेको स्रोतहरूले जनाएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले बताएअनुसार थेबे चार दिनदेखि हिरासतमा छन् र अनुसन्धान जारी छ। यसअघि भदौ २४ गतेको आन्दोलनमा सरकारी, निजी संरचना र केही नेताहरूको घरमा आगजनी तथा तोडफोड भएको थियो।
युवा संघले भने थेबे कुनै पनि तहको जिम्मेवारीमा संलग्न नरहेको स्पष्ट पारेको छ। प्रहरीले तस्बिर, भिडियो र अन्य प्रमाणको आधारमा थप अनुसन्धान गरिरहेको छ।
