सरकारले छठ पर्वपछि व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईमाथि कडाइ गर्ने तयारी गरेको छ।
मंगलबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा बसेको सरकार र राजनीतिक दलहरूको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले प्रसाईमाथि अब राजनीतिक होइन, “क्रिमिनल व्यवहार हुनेछ” भन्दै निगरानी बढाउने संकेत दिए।
बैठकमा अर्यालले भक्तपुरबाट सरकारलाई दुईथरी चुनौती आएको बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओली र दुर्गा प्रसाईतर्फ संकेत गरे। उनले आफूमाथि राजनीतिक हिंसा भइरहेको, नेताहरूले धम्कीपूर्ण अभिव्यक्ति दिइरहेको र मिडियाले आफ्ना कुरा तोडमोड गरेर प्रस्तुत गरेको गुनासो पनि गरे।
बैठकमा एमाले महासचिव शंकर पोखरेलसँग उनको नोकझोक समेत भएको बताइएको छ। गृहमन्त्रीले देशमा वैदेशिक हस्तक्षेप र राजनीतिक अस्थिरता बढाउने प्रयास भइरहेको चेतावनी दिँदै छठलगत्तै दुर्गा प्रसाईमाथि कानूनी कारबाही हुने संकेत दिएका छन्।
