• Monday 19th of October 2026

बालुवाटारमा वाकयुद्ध : गृहमन्त्री ओमप्रकाशको शंकरलाई जबाफ– “म पनि कुनै बेलाको एमाले हुँ”


  • धनकुटा खबर
  • .

काठमाडौं, कात्तिक ५ – प्रधानमन्त्री सुशिला कार्कीले मंगलबार साँझ बालुवाटारमा २० दलका नेताहरूसँग आगामी निर्वाचनबारे छलफल गरिन्। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल र एमाले महासचिव शंकर पोखरेलबीचको वाकयुद्धले सबैको ध्यान तानेको छ।

बैठकमा गृहमन्त्री अर्यालले एमालेले आफूलाई अनावश्यक रूपमा निशाना बनाएको र आफू राजनीतिक प्रतिशोधको सिकार भएको बताएका थिए। त्यसको जवाफमा महासचिव पोखरेलले भने, “तिमी पनि पदीय जिम्मेवारी अनुसार काम गरिरहेका छैनौ” भन्दै गृहमन्त्रीको आलोचना गरे।

जवाफमा अर्यालले आफू पनि कुनै समयको एमाले सदस्य भएको स्मरण गराउँदै भने, “म पनि २०४७ पछिको एमाले हुँ, एमालेले पहिले के गर्थ्यो र अहिले के गरिरहेको छ भन्ने राम्रोसँग थाहा छ।” उनले अहिलेको एमालेलाई “तर्साउने, थर्काउने र गुण्डागर्दी गर्ने” शैलीमा गएको आरोप पनि लगाए।

छलफलमा प्रधानमन्त्री कार्कीले आफूलाई “प्रेसर फिल” भएको बताउँदै, जसरी पनि निर्वाचन सम्पन्न गराउने दृढता व्यक्त गरेकी थिइन्। अधिकांश नेताहरूले शान्ति सुरक्षा निर्वाचनको मुख्य चुनौती रहेको उल्लेख गरे।

बैठकमा कांग्रेस र एमाले नेताहरूले गृहमन्त्री अर्यालले “थुनेकालाई छाड्नुपर्छ” भन्ने अभिव्यक्तिलाई गैरजिम्मेवार ठहर गर्दै आलोचना गरे। उनीहरूले अपराधी नियन्त्रण र लुटिएका हतियार फिर्ता ल्याउने कामलाई प्राथमिकता दिनुपर्ने माग गरे।

गृहमन्त्री अर्यालले भने सरकार सुशासन र शान्ति सुरक्षामा प्रतिबद्ध रहेको र राजनीतिक दलहरूकै गतिविधिबाट सुरक्षा चुनौती बढेको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖