काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताको प्रक्रिया अघि बढिरहेको बताएका छन्।
मधेश प्रदेशमा आयोजित कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै उनले समाजवादी मोर्चामा रहेका दलहरूबीच एकताको दिशामा ठोस कदम चालिएको बताए।
प्रचण्डले भने, “वामपन्थी एकता ध्रुवीकरणको कुरा हो। समाजवादी मोर्चामा भएका पार्टीहरू एकता प्रक्रियातिर अगाडि बढेका छन्। मलाई लाग्छ, छठपछि तपाईंहरूले नयाँ परिस्थिति देख्नुहुनेछ।”
फरक प्रसंगमा उनले सरकारले आसन्न निर्वाचनको वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याए।
“सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ। हिजो मात्रै सरकारले वार्ता गरेको छ। विस्तारै सरकार निर्वाचनतिर गम्भीर हुँदै गएको आभास भएको छ,” उनले भने।
उनका अनुसार माओवादी केन्द्रले औपचारिक रूपमा सरकारलाई सबैभन्दा पहिले निर्वाचनको तयारी र वातावरण सुनिश्चित गर्न आग्रह गरेको हो।
