काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीचको एकता घोषणानजिक पुगेको छ । माओवादी केन्द्रले माओवाद र हँसिया हथाैडा चुनाव चिह्न छाड्ने सहमति जनाएको छ । एकीकृत समाजवादीले माओवादी केन्द्रले अघि सारेको संगठनात्मक ढाँचालाई स्वीकारेर जाने बचन दिएको छ ।
दुई पार्टीबाट अध्यक्षको प्रतिनिधि भएर माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसालले वार्ताको संयोजन गरिरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पनि प्रमुख नेताहरूको व्यवस्थापनबारे छलफल भइरहेको छ । उनीहरूबीच दलीय हैसियतअनुसार, पार्टी नेतृत्वका पद र जिम्मेवारी बाँडफाँटको समझदारी भइसकेको छ ।
“नेतृत्वको पोर्टफोलियो मिलाउने काम नेतृत्व तहकै समझदारीमा गर्नुस्, आफूलाई चाहेको पद र पोर्टफोलियो तपाईंहरू नै निर्धारण गर्नुस् । तर, एकता गरेर जनताको विश्वास अनुसारको बलियो कम्युनिस्ट पार्टी बनाऔँ भनेका छौँ,” एकीकृत समाजवादीका प्रवक्तासमेत रहेका उपाध्यक्ष जगन्नाथ खतिवडाले बाह्रखरीसँग भने, “दुवैजना अध्यक्ष भन्ने वा अध्यक्ष र सहअध्यक्ष भन्ने उहाँहरूले नै समझदारी निर्माण गर्नुहुनेछ ।”
खतिवडाका अनुसार, एकीकृत समाजवादी र माओवादीबीच सैद्धान्तिक सहमति बनिसकेको छ । दुई दलबीच मार्क्सवाद–लेनिनवाद साझा आदर्श मानेर समाजवादी पार्टी बनाउने समझदारी भएको छ । अहिलेको एकताको जग चाहिँ जेनजी विद्रोहले हालिदिएको निष्कर्ष उनीहरूको छ ।
“जेनजी विद्रोह कुनै राजनीतिक वा सैद्धान्तिक जगमा भएको विद्रोह होइन । यो विद्रोहको मुख्य निसानामा कम्युनिस्ट पार्टी परेका छन् । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट भाग्ने अवस्था आउनु जेनजीको तारोमा कम्युनिस्ट पार्टी पर्नु हो । कम्युनिस्टलाई सबैभन्दा अलोकप्रिय व्यवस्था बनाउन खोज्नु हो,” खतिवडाले भने ।
उनले थपे, “यसलाई नै आधार मानेर नेपालमा सबैभन्दा बढी जनताले कम्युनिस्ट पार्टीलाई मतदान गरेर पनि पार्टी अलग अलग हुँदा यसको एकीकृत शक्ति निर्माण हुन नसकेको निष्कर्षसहित बृहत् एकताको अभ्यास भएको हो ।”
उनका अनुसार, माओवादी र एकीकृत समाजवादीको मात्र एकताको प्रयास भएको भए अहिलेसम्म एकता घोषणा भइसक्थ्यो । तर, समाजवादी मोर्चामा आबद्ध चार दलसहित पाँच दलको एकताको प्रयास भएकाले केही ढिला भएको उनी बताउँछन् ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले बृहत्तर एकताको प्रयास भएकाले अहिले नै एकता घोषणा गर्ने अवस्था नबनिसकेको बताए । गुरुङ एकता प्रक्रियामा सहभागी दलहरूको बृहत्तर सहमति नबन्दासम्म र सैद्धान्तिक विषय टुंगो नलागिसक्दासम्म एकता भइहाल्छ भन्नु हतारो हुने बताउँछन् ।
“बाहिर आएजस्तो एकता प्रक्रिया अघि बढिसक्यो, अब फलानो मितिमा एकता घोषणासभा हुन्छ भन्ने अवस्था छैन,” गुरुङले भने, “विप्लवसहित एकता प्रक्रियामा सहभागी दलबीच साझा समझदारी बनेपछि बल्ल एकताले ठोस रूप लिन सक्छ ।”
उनका अनुसार, सबै दलबीच सैद्धान्तिक समझदारी बनिसकेको छैन । नेता खतिवडा पनि विप्लवसँग सैद्धान्तिक र सांगठनिक समझदारी भइनसकेको बताउँछन् ।
वार्ताको संयोजन गरिरहेका नेताहरूबीच दुईपक्षीय र त्रिपक्षीय छलफल भइरहेको छ । नेकपाका तर्फबाट धेरैजसो वार्ता महासचिव नेत्रविक्रम चन्द विप्लवले नै गरिरहेका छन् । उनले वार्ताका लागि तोकिएका नेताहरू र शीर्ष नेताहरूसँग समानान्तर रूपमा छलफल गरिरहेका छन् । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले पनि शीर्ष तहमा र वार्ताका लागि तोकिएका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन् ।
“समाजवादी मोर्चामा आबद्ध चार दल र एउटा निर्वाचन आयोगमा दर्ता भएको अर्को दलबीच एकता प्रयास भइरहेको छ,” सर्वोच्चको आदेशबाट नेकपाको मान्यता पाएको दलतर्फ संकेत गर्दै उनले भने, “त्यो दलसहित सबैबीच समझदारी गरेर निर्वाचन आयोगमा जानकारी गराउनेछौँ ।”
नेपालमा ‘कम्युनिस्टमाथि आक्रमण भइरहेको’ निष्कर्ष निकालेका माओवादी र एकीकृत समाजवादीले एमालेसँग भने एकताको प्रयास गरेका छैनन् । ‘कम्युनिस्ट एकताको बाधक नै केपी शर्मा ओली’ भएकाले एमालेसँग एकताको प्रयास नभएको उनीहरूको भनाइ छ ।
“एमालेको नेतृत्वमा केपी शर्मा ओली हुनुहुन्छ । कम्युनिस्ट एकताको हुन नदिने प्रमुख व्यक्ति उहाँ नै भएकाले एमालेसँग एकताको प्रयास हुन नसकेको हो,” खतिवडाले भने, “एमालेको नेतृत्व परिवर्तन भएमा नेपालमा एउटा मात्र कम्युनिस्ट पार्टी बनाउने र जनताको विश्वासको भोटमार्फत शासकीय नेतृत्व सम्हाल्ने अभ्यास हुनेछ ।”
