जेन–जेड आन्दोलनका क्रममा संसद भवनमा आगजनी भइरहँदा लिइएको भिडियोमा अमनप्रताप अधिकारी देखिएपछि सामाजिक सञ्जालमा तीव्र विवाद उत्पन्न भएको छ। अराजक भिडको बीचमा लिइएको उक्त भिडियोमा अमनप्रतापले अपाच्य शब्द प्रयोग गर्दै “देखिस, जल्यो तेरो देश” भन्दै हर्ष व्यक्त गरेको देखिन्छ। उक्त भिडियो अहिले पनि उनको फेसबुक वालमा सार्वजनिक अवस्थामा छ।
अमनप्रताप अधिकारी नेपालका पूर्व ए–डिभिजन फुटबल खेलाडी हुन्। फुटबलबाट अवकाश लिएपछि उनी कमेन्टेटर, टेलिभिजन कार्यक्रम प्रस्तोता र विभिन्न रियालिटी शोका निर्देशकका रूपमा सक्रिय छन्। उनी ‘द पोयट आइडल’ नामक नेपालकै पहिलो साहित्यिक रियालिटी शोका परिकल्पनाकार र निर्देशक हुन्। साथै, पछिल्लो समय उनी ‘हिमालयन रोडिज’ का होस्टसमेत बनेका थिए।
गत भदौ २४ गते संसद भवन अगाडिको विध्वंसकारी प्रदर्शनका क्रममा अमनप्रताप प्रत्यक्ष संलग्न देखिएको भिडिओमा उनले अश्लील शब्द प्रयोग गर्दै संसद भवनमा आगलागीप्रति खुशी व्यक्त गरेको देखिन्छ। उनले भिडिओको क्याप्सनमा लेखेका छन्, “दिस इज हाउ संसद भवन वाज टेकन डाउन।”
उनको यस्तो व्यवहारले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया र आलोचना उत्पन्न गरेको छ। धेरैले ‘कविता र चेतनाको मंच’ निर्माण गर्ने व्यक्तिबाट यस्तो अभिव्यक्ति अस्वीकार्य भएको टिप्पणी गरेका छन्। अमनप्रताप दिवंगत कवि क्षेत्रप्रताप अधिकारीका छोरा हुन्। सामाजिक सञ्जालमा धेरैले लेखेका छन्, “कविको छोरा अराजकतामा रमाउँदा दुःख लाग्छ।”
भिडिओ सार्वजनिक भएपछि सम्बन्धित निकायले घटनाको अनुसन्धान गर्ने तयारी गरेको र अधिकारीले हालसम्म आफ्नो धारणा सार्वजनिक नगरेको जनाइएको छ।
