आफुलाई जेनजी अगुवा बताउने निकोलस भुसालले निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेता महेश बस्नेतविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएका छन्।
उनले भदौ २३ गतेको घटनालाई ‘नरसंहार’ भन्दै दुबै जनाले आगामी दशैंसम्म आफ्नो “प्राण नरहने” दाबी गरेका हुन्।
कान्तिपथस्थित होटल यल्लो पगोडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भुसालले आफूहरू अहिंसावादी भएकाले ओली र उनका सहयोगीहरू ज्यान जोगाउन सफल भएको बताए। “भैरवनाथ गणका सेनाले थुतेर लैजान सक्थे, तर हामीले रोकेका हौं,” उनले भने।
भुसालले गत दशैंमा विभिन्न शक्तिपीठहरूमा पूजापाठ गरेर “शक्ति प्राप्त” गरेको दाबी गर्दै पुनः चेतावनी दिए, “त्यसैले अब अर्को दशैं ओली र महेश बस्नेतले हेर्न पाउने छैनन्।”
उनको यो अभिव्यक्तिपछि राजनीतिक वृत्तमा तीव्र आलोचना फैलिएको छ। विश्लेषकहरूले यस्तो भाषा लोकतान्त्रिक संस्कृतिविपरीत र कानूनी रूपमा दुरुपयोग योग्य रहेको टिप्पणी गरेका छन्।
