• Monday 19th of October 2026

यता हिँडेर गएका देउवा दम्पत्ति सिंगापुरमा ह्विलचियरमा देखिए


  • धनकुटा खबर
  • .

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार राति ठमठम हिँडेरै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गरे ।

सिंगापुरमा थप उपचारका लागि भन्दै पत्नी आरजु राणाको साथमा देउवा सिंगापुर गएका हुन् । यसअघि देउवाको लामो समय छाउनीस्थित सैनिक अस्पतालमा उपचार भएको थियो ।

भदौ २४ गते जेनजी प्रदर्शनकारीले धारिलो हतियार प्रयोग गर्दा सभापति देउवाको टाउकोको पछाडिको भागमा चोट लागेको थियो । त्यतिबेला चोट लागेको ठाउँमा १२ टाँका लगाइएको थियो ।

जेनजी आक्रमणमा परेपछि लामो समय सार्वजनिक कार्यक्रममा नदेखिएका देउवा असोज १८ गते पार्टी केन्द्रीय समिति बैठकका क्रममा भने पार्टी कार्यालय सानेपाबाट सार्वजनिक भएका थिए । छोटो समय कार्यालयमा बसेका उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएका थिए । त्यतिबेलै देउवाले आफ्नो उपचार गर्नुपर्नेलगायतका कारण देखाउँदै खड्कालाई कार्यवाहक दिएको कांग्रेसका नेताहरू बताउँछन् ।

नभन्दै देउवा सोमबार राति उपचारका लागि सिंगापुर गएका हुन् । देउवा सिंगापुरमा कति समय रहनेछन् भन्ने केही खुलाइएको छैन । तर, यता विमानस्थलमा हिँडेरै गएका देउवा उता सिंगापुर पुग्दा भने ह्विलचियरमा देखिए । चांगी अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा देउवामात्रै नभएर पत्नी आरजु समेत ह्विलचियरको सहारामा बाहिरिएका हुन् । उनीहरु ह्विलचियरबाट बाहिरिएको तस्बिर सुवास कार्कीले आफ्नो फेसबुकमा राखेका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘ह्विलचियरमा देउवा दम्पती ।

सिंगापुर एयरलाइन्सको विमानमार्फत देउवा काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेका थिए । अहिले देउवाको हिलचियरसहितको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यसैबिच कांग्रेसले देउवा उपचारका लागि सिंगापुर गएको भनेर औपचारिक रूपमा जानकारी गराएको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै देउवा चिकित्सकको सल्लाह अनुसार आफ्नो थप स्वास्थ्योपचारका लागि धर्मपत्नी एवं पार्टीका केन्द्रीय सदस्य डा आरजु राणासहित गएराति सिंगापुर एयरलाइन्सको उडानद्वारा त्यसतर्फ गएको जानकारी गराएका हुन् ।

कांग्रेसले देउवाको पूर्ण स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖