सहकारी ठगी र संगठित अपराध अभियोगमा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कारागारमै रहँदै चार बुँदे सन्देश सार्वजनिक गरेका छन्।
पार्टीका नेता प्रमोद न्यौपानेमार्फत बाहिर आएको उक्त सन्देशमा लामिछानेले आफू “पूर्ववत् स्वस्थ, दृढ र आत्मविश्वासी” रहेको जनाउँदै अहिलेको सरकारसँग ‘फेवर’ होइन, न्याय खोजिरहेको स्पष्ट सन्देश दिएका छन्।
लामिछानेले भनेका छन्, “अघिल्लो सरकारले राजनीतिक प्रतिशोधका आधारमा लगाएको मुद्दामा अहिलेको सरकारले आफ्नो धारणा स्पष्ट पारोस्, म कुनै विशेष कृपा होइन, न्याय माग्दै छु। हिजो अन्याय भयो भन्नेहरूले आज केही त बोल्नु पर्छ।”
उनले रास्वपाको भूमिकाबारे पनि धारणा राख्दै भनेका छन् — “वैकल्पिक र परिवर्तनकारी शक्ति एकजुट गर्ने जिम्मा रास्वपाको हो। आवश्यक परे नेतृत्व र त्याग दुवै गर्न तयार छौं।”
सन्देशमा लामिछानेले अप्रत्यक्ष रूपमा अन्य राजनीतिक नेताहरूलाई इंगित गर्दै भनेका छन्, “एकपटक चिठ्ठा परेकाहरू फेरि चिठ्ठा पर्न लोभ गर्छन्, तर संयोग सधैं दोहोरिँदैन। लोभीहरूले चिठ्ठा किन्न सक्छन्, तर हरेक जालमा माछा पर्दैन।”
थुनामै रहँदै उनले अन्त्यमा दृढ अठोट दोहोर्याएका छन् — “रास्वपालाई मुलुकको नेतृत्व गर्ने दल बनाउने हाम्रो लक्ष्य हो। क्षणिक लाभ–हानिको हिसाब गरेर होइन, दीर्घ सोचका साथ हामी अघि बढिरहेका छौं।”
लामिछानेको यो सन्देशलाई रास्वपाका नेता–कार्यकर्ताले “संघर्षकै बीचमा पुनः आत्मबल बढाउने राजनीतिक सन्देश” का रूपमा लिएका छन्। पार्टीका एक वरिष्ठ नेताले भने, “रविको सन्देशले स्पष्ट देखाएको छ— उनी अदालती मुद्दाभन्दा पनि विचार र सिद्धान्तका मैदानमा लडिरहेका छन्।”
