• Monday 19th of October 2026

एमाले फुट्न सक्ने भुषालको चेतावनी


  • धनकुटा खबर
  • .

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले माओवादी केन्द्रसँगको एकता प्रक्रिया हतारमा नगर्न सुझाव दिएका छन् । जारी केन्द्रीय समिति बैठकमा एकताको प्रस्तावमाथि छलफल भइरहेका बेला उनले एकता भनेको मान्छे जम्मा गर्नु मात्रै नभएको स्पष्ट पारेका छन् ।

भुसालले सामाजिक सञ्जालमार्फत भनेका छन्, “आजको संकट के हो भन्ने नै स्पष्ट छैन भने समाधानको कुरा हुन सक्दैन । एकता भनेको केवल संख्या बढाउने कुरा होइन, सिद्धान्त र आचरणमा एकता चाहिन्छ ।”

उनले माओवादीसँग एकता गर्नुअघि एमाले र माओवादी दुवै नेतृत्वबाट बिदा लिनुपर्ने सर्त पनि अघि सारेका छन् । उनका अनुसार अहिलेको मुख्य कार्य भनेको “घूस नखानेहरूको पार्टी निर्माण” हो ।

महासचिव भुसालले एमालेलाई भयंकर दक्षिणपन्थतर्फ उन्मुख भएको बताउँदै, त्यहाँभित्र रहेका वामपन्थीहरूले छिट्टै विद्रोह गर्ने निश्चित रहेको दाबी गरेका छन् । उनले भने, “एमालेले लिएको बाटो विघटनको बाटो हो । त्यहाँका वामपन्थीहरूले विद्रोह नगरी सुख छैन, त्यो प्रक्रिया सुरु भइसकेको छ र अझ तीव्र हुँदै जानेछ ।”

भुसालले माओवादी केन्द्र पनि विभाजनको दिशातर्फ अघि बढिरहेको बताउँदै, “माओवादी आज जे छ त्यो रहन्न, त्यसको डीएनए नै त्यसरी बनेको छ,” भनेका छन् । उनका अनुसार अहिले सबै वाम शक्तिहरूभित्र असन्तोष र विभाजनको अवस्था देखिएकाले बृहत् वाम एकता र पुनर्गठनका लागि पर्खन आवश्यक छ ।

उनको निष्कर्ष अनुसार, एमालेभित्र विद्रोह र माओवादीभित्र विभाजन अवश्यम्भावी रहेकाले अहिले हतारमा गरिएको एकता “थप बर्बादीको बाटो” बन्न सक्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖