• Sunday 18th of October 2026

म मर्दा श्रद्धाञ्जलीका लागि कम्युनिस्ट पार्टीको झण्डा राखिदिनुहोला : बामदेव गौतम


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता बामदेव गौतमले माओवादी केन्द्रसहितका कम्युनिस्ट पार्टीसँग भइरहेको एकीकरणको प्रक्रियालाई समर्थन गर्ने जनाएका छन् ।

सो पार्टीको केन्द्रीय समिति बैठकमा शुक्रबार धारणा राख्दै गौतमले पार्टीभित्रै एकीकरणको विरोध भइरहेका बेला गौतमले आफ्नो कित्ता क्लियर गरेका हुन् ।

‘माओवादी केन्द्रसहितका अरू कम्युनिस्ट पार्टीसँग भइरहेको एकतालाई मेरो हार्दिक समर्थन रहेको छ’, गौतमले कम्युनिस्ट पार्टीविरुद्ध अर्को कम्युनिस्ट उभिन नहुने भन्दै ‘साना साना कम्युनिस्ट मिलाएर नगई सम्भव छैन, यहाँसम्मकी यो काम एमालेसँग पनि गर्नुपर्छ ।’

बैठकमा गौतमले नेकपा एमालेलाई विभाजन गरेर यो बनेको पार्टीमा आफ्नो समेत सहयोग रहेको बताए । ‘यो पार्टी गठनमा मेरो पनि गोप्य सहयोग थियो । यसमा अहिले औचित्य पुष्टि भएको छैन भनेर रडाको गर्नुपर्ने पनि छैन’, गौतमले भने, ‘आज मलाई संरक्षण गरिरहेको राजनीतिक पार्टी पनि यही हो ।’

उनले यस पार्टीप्रति पूर्ण बफदार रहेर सक्दो योगदान गरिरहने भन्दै आफूले पार्टी प्रवेश गरेपछि दोस्रो सचिवालय बैठकमा भनेको प्रसङ्ग कोट्याउँदै अव पार्टी नयाँ पुस्ताले हाँक्नुपर्ने बताए ।

‘अब हामीले दाबी गर्ने होइन नयाँ आउनुपर्छ भनेको कुरा फेरी दोहोर्‍याउछु । म जुनसुकै बेला हट्न तयार छु, तर मर्दा श्रद्धाञ्जली दिनका लागि कम्युनिस्ट पार्टीको झण्डा राखिदिनुहोला त्यो मेरो चाहना छ ।’

गौतमले आफूसँगै झलनाथ खनाल, माधव नेपाल वा अरू कम्युनिस्ट पार्टीका, प्रचण्ड, केपी ओली पनि रिटायर्ड हुनुपर्ने बताए । ‘उहाँहरू पनि अब त्यो ठाउँमा पुग्नुपर्छ’, गौतमले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖