एमाले छोडेर माओवादीमै फर्कने तयारीमा रामबहादुर थापा बादल र लेखराज भट्ट छन् ।
यो पनि पढ्नुहोस्…
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता बामदेव गौतमले माओवादी केन्द्रसहितका कम्युनिस्ट दलबीच भइरहेको एकीकरणको पहललाई समर्थन गर्ने बताएका छन्।
शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीभित्र एकीकरणका विरोधी आवाज भइरहेका बेला आफूले आफ्नो धारणा स्पष्ट गरेको बताए।
“माओवादी केन्द्रसहितका अरू कम्युनिस्ट पार्टीसँग भइरहेको एकतालाई मेरो हार्दिक समर्थन छ,” गौतमले भने, “कम्युनिस्ट पार्टीविरुद्ध अर्को कम्युनिस्ट उभिनु हुँदैन। साना साना कम्युनिस्टहरू मिलेर नगई ठूलो परिवर्तन सम्भव छैन, यो काम एमालेसँग पनि हुनुपर्छ।”
गौतमले यसअघि एमाले विभाजन गरी बनेको एकीकृत समाजवादी पार्टीमा आफ्नो गोप्य सहयोग रहेको स्वीकार गरे।
“यो पार्टी गठनमा मेरो पनि गोप्य सहयोग थियो। त्यसको औचित्य अहिले पुष्टि नभएको भन्दै रडाको मच्चाउनुपर्ने होइन,” उनले भने, “आज मलाई संरक्षण गरिरहेको राजनीतिक पार्टी यही हो।”
वरिष्ठ नेता गौतमले आफू यस पार्टीप्रति पूर्ण बफादार रहेको बताउँदै नयाँ पुस्ताले पार्टीको नेतृत्व लिनुपर्नेमा जोड दिए।
“अब हामीले दाबी गर्ने होइन, नयाँ पुस्ताले नेतृत्व लिनुपर्छ,” उनले दोहोर्याए।
भावनात्मक रूपमा उनले भने, “म जुनसुकै बेला हट्न तयार छु, तर मर्दा श्रद्धाञ्जली दिनका लागि कम्युनिस्ट पार्टीको झण्डा राखिदिनुहोला, त्यो मेरो चाहना हो।”
गौतमले आफू मात्र नभई झलनाथ खनाल, माधव नेपाल, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ जस्ता पुराना नेताहरू पनि अब विश्रामको चरणमा पुग्नुपर्ने टिप्पणी गरे।
उनका अनुसार, “हामी सबैले नयाँ पुस्तालाई बाटो दिनुपर्छ, यहीँबाट कम्युनिस्ट आन्दोलन पुनर्जीवित हुन सक्छ।”
