काठमाडौँ । नेपालको वाम आन्दोलन फेरि एकपटक वैचारिक मोडमा उभिएको छ। नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेमा फर्कने सम्भावना रहेको सङ्केत गर्दै त्यसका लागि ‘समाजवादी क्रान्तिको बाटो’ अपनाउनुपर्ने मुख्य सर्त राखेका छन्।
नेता खनालले आफूलाई एमालेप्रति माया रहे पनि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ‘सुस्थिर चिन्तन’ नदेखिएको भन्दै कडा आलोचना गरे। एमालेसँग एकता नभए नयाँ पार्टी निर्माण अवश्यम्भावी रहेको उनको ठहर छ।
एमाले फर्कने चार वैचारिक सर्त
नेता खनालले एमाले फर्कनका लागि चारवटा आधारभूत वैचारिक सर्तहरू अगाडि सारेका छन्, जसलाई वार्ताको आधार बनाउन सकिने उनले बताएका छन्।
खनाल भन्छन्, ‘एमाले फर्कन तयार छौँ, तर समाजवादी क्रान्तिको बाटो अवलम्बन गर्नुपर्छ। जनताको बहुदलीय जनवादलाई मात्र होइन, समाजवादी क्रान्ति र रूपान्तरणको बाटोमा अघि बढ्न तयार भए मात्र हामी फर्कन सक्छौँ।’
