नेकपा (माओवादी केन्द्र) ले नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूसँग एकता सहमति गर्दै आफ्नो पुरानो मार्गनिर्देशक सिद्धान्त ‘माओवाद’ त्यागेको छ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल लगायत आठ दलका अध्यक्ष तथा संयोजकले हस्ताक्षर गरेको सहमतिपत्रको पहिलो बुँदामै नयाँ पार्टीको सिद्धान्त ‘मार्क्सवाद–लेनिनवाद’ हुने उल्लेख गरिएको छ।
नेता वेदुराम भुसालका अनुसार एकतामा सहभागी दलहरूले आ–आफ्ना सिद्धान्तगत मतभेदहरूमा लामो छलफलपछि साझा रूपमा ‘मार्क्सवाद–लेनिनवाद’मा सहमति जनाएका हुन्।
उनका शब्दमा, “हामीले एक वर्षदेखि वैचारिक विषयमा गहिरो छलफल गर्यौं, अन्ततः मार्क्सवाद–लेनिनवादकै मार्गमा सहमत भयौं।” यससँगै माओवादी केन्द्रले दश वर्षे सशस्त्र संघर्षदेखि आफ्नो राजनीतिक पहिचान बनाएको ‘माओवाद’ सिद्धान्त पहिलोपटक औपचारिक रूपमा स्थगित गरेको हो।
तर माओवादीका वरिष्ठ नेता देव गुरुङले भने ‘माओवाद’ पूर्ण रूपमा छोडिएको निष्कर्षमा पुग्न नहुने बताएका छन्। उनका अनुसार सहमतिपत्रको १८ औं बुँदामा वैचारिक छलफल जारी रहने प्रावधान रहेको छ। “हाम्रो सिद्धान्त माओवाद नै हो, तर छलफल निरन्तर चल्नेछ,” गुरुङले भने। आगामी एकता महाधिवेशनबाट अन्तिम वैचारिक निष्कर्ष निकाल्ने तयारी गरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो सहमतिले नेपालको वाम राजनीति फेरि ‘मार्क्सवाद–लेनिनवाद’तर्फ फर्किएको संकेत गर्छ। सशस्त्र माओवादी आन्दोलनको आधार बनेको माओवादी विचार अब सैद्धान्तिक रूपमा इतिहास बन्ने सम्भावना बढेको छ।
