नेकपा एमालेले जेन–जी आन्दोलनप्रति आफ्नो अघिल्लो धारणा परिवर्तन गर्दै ती मागहरू जायज र पूरा गर्न सकिने खालका रहेको निष्कर्ष निकालेको छ।
एमाले महासचिव शंकर पोखरेलले सोमबार एक पत्रकार सम्मेलनमा बोल्दै नवपुस्ता (जेन–जी) ले राखेका मागहरू — भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जालको स्वतन्त्र प्रयोग — अनुचित नभएको बताए।
यसअघि एमालेले यही आन्दोलनलाई विदेशी शक्ति र षड्यन्त्रसँग जोड्दै आलोचना गरेको थियो। पोखरेलले भने, “जेन–जी पुस्ताले उठाएका मागहरू पूरा गर्न असम्भव थिएनन्, तर त्यसबेला सरकारले नेतृत्व र परिस्थिती बुझ्न सकेन।”
तर उनले आन्दोलनका क्रममा केही युवाहरू ‘गलत तत्त्व’ द्वारा प्रयोग भएको दाबी पनि दोहोर्याए। पोखरेलले मुलुकको राजनीतिक संकट समाधानका लागि कांग्रेस र एमालेबीच साझा दृष्टिकोण बन्न सक्ने संकेत दिएका छन्। साथै, उनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारप्रति प्रश्न उठाउँदै प्रमुख दलका नेतालाई स्थानहद गरेर चुनाव सम्भव नहुने टिप्पणी गरे।
