व्यवसायी तथा राजसंस्था पुनः स्थापनाको अभियानमा लागेका राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँ भारतको दिल्ली पुगेका छन् । क्यान्सर उपचारसम्बन्धी फलोअपका लागि भन्दै उनी पछिल्ला केही साताभित्र दोस्रो पटक भारत पुगेका हुन् ।
प्रसाईंले आफ्ना भारत भ्रमणहरूलाई भारतीय नेतासँग संवाद गरी नेपालमा राजसंस्था र हिन्दूराज्य पुनःस्थापनाका लागि ‘नैतिक समर्थन प्राप्त गर्ने प्रयास’ का रूपमा चित्रण गर्दै आएका छन् ।
तर, भारतीय सरकारी अधिकारीहरूले प्रसाईँको राजनीतिक अभियानसँग कुनै सरोकार नरहेको स्पष्ट पारेका छन् ।
भारत हाल नेपालको निर्वाचित सरकारसँग स्थिर सम्बन्ध कायम राख्ने र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिमा भारत सरकार रहेको एनडीटीभीले स्रोतलाई उदृत गर्दै समाचार छापेको छ ।
‘भारतीय अधिकारीहरूले दुर्गा प्रसाईँलाई भारतमा रहँदा कुनै पनि राजनीतिक गतिविधि नगर्न र भारतको समर्थन भएको भ्रामक दाबी नगर्न चेतावनी दिएका छन्’, समाचारमा भनिएको छ ।
सोहीअनुसार प्रसाईं र उनका छोरा दुवैले यसपटक कुनै भारतीय सरकारी वा दलका प्रतिनिधिसँग भेटघाट गर्न सकेका छैनन् । पछिल्ला भ्रमणहरूमा पनि यस्तै प्रयास असफल भएको स्रोतलाई उदृत गर्दै समाचारमा भनिएको छ ।
प्रसाईँले मंसिरमा देशव्यापी सडक अवरोध र विरोध प्रदर्शन गर्ने योजना सार्वजनिक गरेका छन् । उनका भाषणहरूमा देखिने राष्ट्रवादी र गणतन्त्रविरोधी स्वरले राजसंस्थाप्रेमीहरूमा उत्साह जगाएको भए पनि मुख्यधारका राजनीतिक दलहरूले ती वक्तव्यलाई निन्दा गर्दै आएका छन् ।
दिल्लीस्थित अधिकारीहरूले भारतले आफ्नो अभियानमा समर्थन गरेको दाबीप्रति प्रसाईँसँग असन्तुष्ट रहँदै आएका छन् । एक वरिष्ठ अधिकारीका अनुसार, प्रसाईँको राजनीतिसँग प्रत्यक्ष वा अप्रत्यक्ष भारतको कुनै सम्बन्ध छैन । उनका गतिविधिहरूलाई भारतको कुनै अनुमोदन छैन ।
स्मरणीय छ, नेपालमा प्रसाईंका प्रदर्शनहरू पटक–पटक हिंसात्मक घटनाले ग्रस्त भएका छन् । गत अप्रिलमा भएको हिंसात्मक आन्दोलनपछि समेत उनी भारत भागेका थिए । त्यतिबेला भारतीय प्रहरीले पक्राउ गरी उनलाई नेपाल फर्काएको थियो । उक्त आन्दोलनका क्रममा उनका समर्थकहरूले सार्वजनिक र निजी सम्पत्तिमा आगजनी गरेका थिए ।
