• Sunday 18th of October 2026

नारायणकाजीबाट धोका भयो : सुदन किराती


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले नारायणकाजी श्रेष्ठबाट धोका पाएको गुनासो गरेका छन् । श्रेष्ठले आफूसँग कुराकानी गर्ने क्रममा यथास्थितिमा बस्न नसकिने बताएको तर पछि त्यस्तो नगरेको भन्दै धोका भएको बताएका हुन् ।

मंगलबार अनलाइनखबरसँगको कुराकानीका क्रममा उनले अधिकांश नेताहरू वर्तमानको कुरा मात्रै सोच्ने र भोलिबारे ध्यान नदिने गरेको बताए ।

‘जो नेताको टाउकोमा तरवार छ, अथवा डर छ मनमा, उसले भोलिको कुरा सोच्दैन । अहिलेको कुरा मात्र सोच्छ,’ किरातीले कुराकानीका क्रममा भने, ‘नेपालका अधिकांश नेता अहिलेको कुरा मात्र सोच्ने भएको छ । भोलिको कुरा सोच्दैन । कुरा गर्छ, निर्णय गर्ने बेला अहिलेको कुरा गर्छ । नारायणकाजी श्रेष्ठले वास्तवमा हामीलाई धोका दिनुभयो ।’

यसबारे हामीले राखेको जिज्ञासामा थप प्रष्ट पार्दै उनले भनेका छन्, ‘मसँगै कुरा गर्दाखेरि उहाँले भन्नुभएको थियो कि यथास्थितिमा बस्नै सकिँदैन ।’

श्रेष्ठले प्रचण्डसमक्ष आफूले संयोजक मागेको पनि बताएका छन् । अहिले प्रचण्डको अनुहार देखाएर चुनावमा जान नसकिने बताएको भन्दै नेतृत्वबाट ठाउँ छाड्न आग्रह गरेको समेत श्रेष्ठले आफूलाई सुनाएको किरातीको भनाइ छ ।

‘संयोजक मैले मागेको छु । तीन चोटी मैले कुरा गरेँ । एक घण्टादेखि डेढ घण्टासम्म मैले भने– तपाईको अनुहार देखाएर चुनावमा जान सकिँदैन । तपाईंले ठाउँ छोड्नुस मैले भनेको छु,’ श्रेष्ठको भनाइ उद्धृत गर्दै किरातीले भने, ‘उहाँले नै बोलाएर भनेको उहाँको निवासमा उत्साहजनक ढंगले । तर झलनाथ खनालले भनेको छ कि बामदेव र म छोड्छु । प्रचण्ड र माधव नेपालले छोड्छ र तिमी संयोजक हुन्छौं भने हामी आउँछौ भनेको छ । तर प्रचण्डले ठोस् जवाफ दिएको छैन भन्नुभएको छ ।’

किरातीले श्रेष्ठलाई अब संयोजक पद पाउनुहुन्छ कि पाउनुहुन्न ? भनेर सोधेको पनि बताए । सो क्रममा पार्टीमा ढाँट्ने चलन भएको र आफूले नपाउने किरातीलाई बताएका थिए ।

‘अनि के तपाईंले पाउनुहुन्छ कि पाउनुहुन्न त मैले भन्दाखेरि ‘पाउँदिन’ किनभने ढाट्ने चलन छ हाम्रो पार्टीमा । पाउँदिन र धेरै चोटी म ढाँटिएको छु,’ किरातीले सुनाए, ‘त्यसो भए के हुन्छ त भन्दा यसरी (दुई हातले सोफामा हान्दै) यथास्थितिमा अब रहन सकिँदैन (भन्नुभयो) । मैले भने आँट गर्नुस् तपाईं हाम्रो नेता बन्नुस् । हात मिलाएर छुट्यौं । नयाँ गर्नुपर्छ भन्नुभएको थियो अघिल्लो भेटमा (दुई भेट भयो) । उहाँले ताली पिटेर, ल्याप्चे हानेर गर्नुभयो । भनेपछि धोका दिनुभयो । डराएको मान्छेले आजको दिन मात्रै सोच्छ भन्ने कुरा प्रमाणित भयो ।’-अनलाइन खबर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖