• Sunday 18th of October 2026

अशोक राईलाई प्रचण्ड-माधवको एकता प्रस्ताव, राईले बोलाए केन्द्रीय समिति बैठक


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष अशोक राईलाई एकता प्रक्रियामा आउन प्रस्ताव गरेका छन् । सो प्रस्तावपछि राईले केन्द्रीय समिति बैठक बोलाएका छन् ।

अध्यक्ष राईले एकताको प्रस्ताव आएको पुष्टि गर्दै पार्टीको एकीकृत धारणा बनाउन केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार बैठक आज बिहान साढे ११ बजे काठमाडौंस्थित पार्टीमा कार्यालयमा बस्ने छ ।

बैठकमा पार्टी एकता र मोर्चाबन्दीका लागि आएका प्रस्तावसहित आगामी निर्वाचन र भदौको जेनजी आन्दोलनपछिको राजनीतिक अवस्थाबारे छलफल हुने अध्यक्ष राईले बताए ।

‘पार्टी एकता गरौं, नभए मोर्चाबन्दी गरौं भनेर प्रचण्डबाट, माधव नेपालजी लगायत दुई–चार ठाउँबाट प्रस्ताव आएको छ । यस सम्बन्धमा कस्तो नीति बनाएर जाने भन्नेबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको छ,’ अध्यक्ष राईले अनलाइनखबरसँग भने । उनले केन्द्रीय समिति बैठकको निष्कर्षअनुसार अगाडि बढ्ने बताए ।

उनले प्रचण्ड र माधव नेपालसहित राष्ट्रिय मुक्ति पार्टीबाट पनि त्यस्तै खालको प्रस्ताव आएको बताए ।

नयाँ र पुराना दलसँग एकता वा सहकार्य गर्ने कि नगर्ने भन्ने विषयमा बैठक नबसी केही भन्न नसक्ने जवाफ आफूले दिएको उनले बताए ।

‘एक्लै जाने कि, मिलेर जाने कि, एकता गर्ने कि, मोर्चा बनाउने कि अथवा नयाँ दलहरुसँग सहकार्य गर्ने कि, पुरानासँग मिलेर जाने कि भनेर अहिले नै निधो गर्नसक्ने अवस्थामा छैनौं भनेर मैले भनेको छु । त्यसबारेमा केन्द्रीय समिति बैठकबाट निर्णय गर्छौं,’ राईले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖